☰ open Loading... 24 February 2025|  

स्वास्थ्यकर्मीको आन्दोलनले पोलियो खोप कार्यक्रम प्रभावित
  | २१ फाल्गुन २०७३, शनिबार १३:०५

धनगढी । स्वास्थ्यकर्मीको आन्दोलनका कारण कैलालीमा जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पोलियो खोप खुवाइने अभियान सुरु हुन सकेन । कैलालीमा आज (शनिबार) र भोलि (आइतबार) जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पोलियो थोपा खुवाउने कार्यक्रम थियो । स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो खोप अभियानका लागि चाहिने सामग्री खोप केन्द्रमा पठाउन नसकिएकाले यो कार्यक्रम प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर प्रदीप जोशीले बताए ।

छिमेकी देश भारतमा पोलियो उन्मूलन भइनसकेको अवस्थामा यो रोगको सङ्क्रमण नेपालको तराईको जिल्लामा फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले कैलाली सहित मुलुकका १५ जिल्लामा यो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

कार्यक्रमअन्तर्गत कैलालीमा पाँच वर्ष मुनिका एक लाख १६ हजार आठ सय ४६ बालबालिकालाई जेई तथा खोप कार्यक्रममा समावेश गर्ने लक्ष्य राखेको थियो । सो अभियानका लागि स्थापना गरिएका पाँच सय ८० खोप केन्द्रमा एक हजार एक सय ६० स्वयम्सेवक खटाइने भने पनि स्वास्थ्यकर्मीको आन्दोलनका कारण अभियानमा असर पर्नसक्ने भन्दै अर्को सूचना जारी नभएसम्मका लागि पोलियो खोप कार्यक्रम स्थागित गरिएको वरिष्ठ जिल्ला जनस्वास्थ्य प्रशासक टङ्कप्रसाद चापागाईंले जानकारी दिए ।

अभियानअन्तर्गत आज खोप केन्द्रबाट बालबालिकालाई खोप खुवाइने र भोलि २२ गते छुटेका बालबालिकालाई घरदैलोमै पुगेर खोप खुवाइने कार्यक्रम तय गरिएको थियो ।