☰ open Loading... 16 September 2024|  

प्रधानमन्त्रीले मोर्चालाई भने, ‘एमालेको कार्यक्रममा अबरोध नगर’
  | २२ फाल्गुन २०७३, आईतवार १९:३२

प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेको मेची(महाकाली यात्रामा अबरोध नगर्न मधेसी मोर्चालाई आग्रह गरेका छन् । प्रजातन्त्रमा सबैलाई जनता समक्ष आफ्ना कुरा राख्न पाउने अधिकार भएको उल्लेख गर्दै विराटनगरमा आइतबार पत्रकार सम्मेलनमा उनले कार्यक्रमलाई अवरोध नपुर्‍याउन मधेसी मोर्चालाई आग्रह गरेका हुन् । उनले एमालेको कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरकारले सुरक्षा प्रबन्ध मिलाउने बताए ।

प्रधानमन्त्रीले वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन भएरै छाड्ने उल्लेख गर्दै निर्वाचनमा तराई केन्द्रीत राजनीतिक दलहरु पनि सहभागी हुने दाबी गरे । उनले तराईमा स्थानीय तहको सख्या थपेर भएपनि मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने वताएका हुन् । तर उनले तराईमा स्थानीय तहको कती सख्या थपिने उल्लेख गरेनन् ।

मधेसमा स्थानीय तहको सख्या थपेपछि संविधान संशोधन विधेयक परिमार्जन सहित पास नभए पनि तराई केन्द्रित राजनीतिक दलहरु स्थानीय निर्वाचनमा सहभागी हुने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे ।संविधान संशोधन नभएपनि स्थानीय निर्वाचनमा कुनै प्रभाव नपर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘संविधान संशोधन प्रस्ताव प्रान्तीय र संसदीय निर्वाचनका लागि महत्त्वपूर्ण छ ।’

संविधान संशोधन विधेयक संसदमा छलफलका क्रममा रहेको बताउँदै प्रधानमन्त्री दाहालले विधेयक असफल हुने अवस्थामा मतदानमा लान नहुने तर्क गरे । संशोधनका बारेमा १५ वटा प्रस्ताव परेकाले त्यसलाई टुङ्गोमा पुर्‍याउने उल्लेख गर्दै दाहालले भोटिङमा जाँदा संशोधन फेल हुने अवस्था आए के गर्ने भन्ने बारेमा मधेसी मोर्चासँग पनि छलफल गरेको बताए । उनले संविधान संशोधन विधेयकलाई सोझै निर्वाचनमा लैजान मोचालाई गाह्रो भएको बताए ।