☰ open Loading... 16 September 2024|  

अनमोल फाउन्डेसनको शुभारम्भ
  | २५ फाल्गुन २०७३, बुधबार १६:०७

सुर्खेत ।  ६ महिने नावालक अनमोल शाहीको मृत्यु भएपछि उनका आमावुवाले अनमोल फाउन्डेसन शुभारम्भ गरेका छन् । वीरेन्द्रनगर–१० खजुरा निवासी निराजन शाहीका छोरा अनमोलनको ६ महिना पुगेकै दिन मृत्यु भएपछि आमावुवाले उनको सम्झनामा फाउन्डेसन शुभारम्भ गरेका हुन् ।

हजारौं अनमोलहरुको जीवन रक्षा र जोखिममा रहेका बालवालिकाहरुको अधिकार संरक्षण गर्ने हेतुुले फाउन्डेसनको स्थापना गरिएको अनमोलनका बुवा निराजन शाहीले जानकारी दिए । फाउन्डेसनले मुख्यगरी, जोखिममा रहेका बालवालिकाहरु संरक्षण गर्ने र उनीहरुको आमावुवाको मुहारमा खुसी ल्याउने अपेक्षा राखे ।

शाहीले फाउन्डेशनको शुभारम्भ गरेसंगै इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक शाखा सुर्खेतमा कार्यरत कर्मचारीहरुले १४ हजार ९४५ रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेका छन् । शाखामा कार्यरत १९ जना कर्मचारीहरुले रकम संकलन गरेर हस्तान्तरण गरेको शाखा प्रवन्धक नवराज पंगालीले जानकारी दिए ।

अनमोलको केही दिन अघि अस्पतालमा उपचार गराइ रहेको बेला मृत्यु भएको थियो । ‘६ महिना पुगेकै दिन बावुको पास्नी (भात खुवाउने) कार्यक्रम थियो, एक्काशी विरामी भएपछि उपचार गराउँदा गराउँदै मृत्यु भयो’ शाहीले भने,–‘छोरा गुमाउँदा वियोगको पीडा र यादलाई जीवन्त पार्न फाउन्डेसनको शुभारम्भ गरेको हुँ ।’

सामान्य पखाला लागेको दुई घण्टासम्म कारण पत्ता नलगाएर मैले छोरा गुमाउँदा पीडालाई शक्तिमा बदल्न फाउन्डेसनको शुभारम्भ गरेको शाहीले बताए । फाउन्डेसनमा संकलन भएको रकम अनमोल जस्तै अरु बालबालिकाहरुलाई सहयोग स्वरुप दिन सञ्चालनमा ल्याएको जानकारी दिए ।

केही दिनमा फाउन्डेसनको रकम कस्ता प्रकृतीका बालवालिकाहरुलाई हस्तान्तरण गर्ने भन्ने मापदण्ड बनाएर  अघि बढ्ने प्रतिवद्धता शाहीको छ । उनले शुरुमा फाउन्डेसनको रकम शैक्षिक विकासमा खर्चिने र निकट भविष्यमा बाल अस्पताल संचालन गर्ने योजना रहेको बताए ।