☰ open Loading... 15 October 2024|  

जाजरकोटमा बस दुर्घटनामा २६ को मृत्यु, २८ घाइते, १९ जनाको सनाखत
  | २६ फाल्गुन २०७३, बिहीबार २२:४६

जाजरकोटमा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २८ जना घाइते छन् । बिहीबार अपरान्ह सदरमुकाम खलंगाबाट साल्माको खाराका लागि छुटेको ना ३ ख २२७९ बस भेरीमालिका–४, बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको हो । बस भिरबाट करिब दुई सय मिटर तल खसेको छ ।

दुर्घटनामा परी मृत्यु भएका सबैको शव नेपाली सेना र प्रहरीको टोलीले बाहिर निकालेको छ । यो समाचार तयार पर्दा मृतकमध्ये सनाखत हुँनेहरुमा गणेस वोहरा भेरीमालिका नगरपालिका ४ , शान्त सुनार भेरीमालिका नपा ३ , गोपाल सुनार भेरीमालिका ११ , डिलवहादुर वुढा दसेरा १ , मदन पुन सिमा ९ , रामवहादुर वस्नेत लहँ ४ , नदिल चन्द भेरीमालिका ४ , सन्तोष चन्द भेरीमालिका १०, नन्दलाल जैसी साल्म ५ , शमिला सुनार भेरीमालिका ११ , वहादुर भण्डारी भेरीमालिका ११ ,कृष्णवहादुर गिरी चौरजहारी नपा रुकुम , मनिराम जैसी दसेरा २ , नैने दमाई पजारु ८ , दले तिरुवा मजकोट ७ , हरीवहादुर शाही गर्खाकोट ४ रहेका छन् । अन्य मृतकको नाम खुल्न सकेको छैन ।

१३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १३ जनाको उपचारको क्रममा जिल्ला अस्पताल खलंगामा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल खलंगा पठाइएको छ । अस्पतालमा बेड नपुग्दा अस्पताल परिसरमै राखेर धेरैको उपचार भइरहेको छ ।

दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लाने तयारी भए पनि हेलिकोप्टर बस्ने ठाउँको अभावमा त्यो सम्भव भएन् । गम्भीर घाइतेलाई रुकुमको चौरजहारी अस्पतालमा लगिएको छ । उक्त अस्पताल खलंगाबाट १५ किलोमिटरको दूरीमा पर्छ ।

रुकुममा विमानस्थल भएकाले त्यहीबाट काठमाडौं लाने तयारी भएको प्रहरी नायब उपरक्षिक भावेश रिमालले जानकारी दिए । घाइतेलाई लिन नेपाली सेनाको नाइट भिजन हेलिकोप्टर आउने तयारी भएको छ ।

बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २३ जना मात्र यात्रुको चलानी लिएर हिडेको बसमा ६० बढी यात्रु भएको अनुमान गरिएको छ ।