☰ open Loading... 19 September 2024|  

होलीमा जबरजस्ती रंग लगाए कारबाही
  | २९ फाल्गुन २०७३, आईतवार १०:१७

सुर्खेत । रंगहरुको पर्व फागु अर्थात् होली आज (आइतबार) र भोली (सोमबार) मुलुकभर मनाइदै छ । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरूको चाड फागुपूर्णिमा पहाडी भेगमा आज र तराइ भेगमा भोलि भव्यताका साथ मनाइँदैछ । सुर्खेतसहित  हिमाली र पहाडी ५४ पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ आज मनाउन लागिएको हो । तर सुर्खेत भित्रि मधेसमा पर्ने भएकाले दुवै दिन होली मनाउने गरिन्छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले होलीमा शान्ति सुरक्षा खलल नपुगोस् भन्ने उदेश्यले विशेष सुरक्षा दस्ता परिचालन गर्ने भएको छ । होलीमा लोला हान्ने, मादिरा सेवन गर्ने, हेल्मेट नलाउने लगायतका कार्यमा उनीहरुको संलग्नता बढी हुने भएकाले विशेष सुरक्षा परिचालन गर्न लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिए ।

होलीमा हुन सक्ने सम्भावित घटना रोक्न प्रहरीले आज बिहानैदेखि सादा पोशाक र जनपद प्रहरी बाक्लो मात्रामा परिचालन गर्ने एसपी आचार्यले बताए । प्रहरीलाई होलीमा अप्रिय घटना हुन नदिने र घटना संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरिने उनले बताए । होलीमा अरुको इच्छा विपरित रंग हान्ने कार्यमा संलग्न हुने गरेको पाइएकाले यो वर्ष त्यस्तो कार्य गर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन आएको एसपी आचार्यले जानकारी दिएका छन् ।

उनले नागरिकलाई संयमित होली मनाउन आग्रह गरेका छन् । कसैको इच्छा विपरित रंग नलगाउन आग्रह गरेको एसपी आचार्यले त्यस्तो कार्य गरेमा तत्काल प्रहरीलाई खवर गर्न उनले नागरिकलाई आग्रह पनि गरेका छन् । होलीमा अन्य दिनको तुलनामा धेरै प्रहरी परिचालन  हुने उनले बताए ।   होली पर्वमा शान्ति सुरक्षामा खलल पु¥याउने व्यक्तिलाई तत्काल कारवाही गरिने उनको भनाई छ । होलीको दिन खुला रुपमा मद्यपान, धुम्रपान जस्ता विकृतीपूर्ण कार्य गर्ने व्यक्तिलाई कार्वाही गरिने एसपी आचार्यले बताए ।

मनोरन्जनका नाममा विकृती गर्ने जो कसैलाई पनि कानुनी कारवाही गर्ने उल्लेख गरेका एसपी आचार्यले मर्यादित रुपमा होली पर्व मनाउन सुर्खेतबासीलाई आग्रह गरेका छन् । बसन्त ऋतुको आगमनको सुरुआतमा पर्ने होलीलाई सदभाव र आत्मियता साटासाट गर्ने पर्वको रुपमा पनि लिइन्छ । मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भई एकआपसमा रंग दलेर यो पर्व मनाउने चलन छ ।

विष्णुभक्त प्रल्हादलाई आगोमा जलाउन खोज्दा पापी प्रवृत्तिकी होलीका आगोमा भष्म भएको खुसीयालीमा होली मनाउन थालिएको पौराणिक कथन छ । होलीको अवसरमा सरकारले सार्बजनिक विदा दिएको छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूणिर्माको रातमा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

फागुन शुक्ल अष्टमीको दिन शनिबार भीमसेन मन्दिरमा राखिएको लिङ्गलाई टोल टोलमा पसलै पिच्छे घुमाएर पूजा गरी पुनः मन्दिरको पाटीमा राखिने परम्परा छ । होलीमा प्रयोग गरिने रङहरूको आ–आफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।