☰ open Loading... 19 September 2024|  

बेलिब्रिज जीर्ण हुँदा जोखिम मोलेर आवतजावत गर्न बाध्य
  | २९ फाल्गुन २०७३, आईतवार १०:२०

रुकुम । एघार वर्ष पहिले निर्माण गरिएको मुसिकोट नगरपालिका–५ सोलावाङ र बैरागीठाँटीबीच खोलामा रहेको बेलिब्रिज जीर्ण बन्दै गएको छ ।

विसं २०६२ मा नेपाली सेनाले निर्माण गरेको उक्त बेलिब्रिज लामो समयसम्म पनि मर्मत नहुँदा जीर्ण बन्दै गएको हो । अहिले जीर्ण बेलिब्रिजमा जोखिम मोलेर यातायातका साधन आवतजावत गर्न बाध्य छन् ।

दैनिक सयभन्दा बढी साना, ठूला सवारीसाधन ओहोरदोहोर गर्ने यस बेलिब्रिजको सतहमा रहेका फलामका अधिकांश पाता उक्किएका छन् भने बाँकी रहेका पाता पनि खिया लागेर टुक्रिन थालेका छन् ।
स्थानीयवासीको आग्रहपछि नेपाली सेनाले पुल निर्माण गरिदिएको थियो । त्यसपछि मर्मतका लागि कुनै पहल नभएपछि जीर्ण बनेको स्थानीयवासीको भनाइ छ । बेलिब्रिजको अवस्थाबारे जिल्लाका सबै सरोकारवाला निकायलाई जानकारी भए पनि मर्मतमा कसैले चासो नदिएको स्थानीयवासी विनोद ओलीले बताए ।

मर्मत गर्ने जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय चौरजहारीले पनि ध्यान नदिएको उहाँको भनाइ छ । ब्रिज जीर्ण बनेकै कारण दैनिकजसो सानातिना दुर्घटना हुन थालेको उनले बताए । तत्काल मर्मत नगर्ने हो भने ठूलो दुर्घटना हुन सक्छ ओलीको भनाइ छ । तर कार्यालयका इन्जिनियर नवीनकुमार शाहले बेलिब्रिज मर्मतका लागि रु ३७ लाख बराबरको टेन्डर आह्वान भइसकेको जानकारी दिए ।

मर्मतका लागि टेन्डर आह्वान भएकाले चैतको अन्तिम साताबाट मर्मतको काम सुरु हुने इन्जिनियर शाहले बताए ।