☰ open Loading... 7 September 2024|  

इलाका कार्यालय धमाधम उद्घाटन हुँदै
  | ३० फाल्गुन २०७३, सोमबार १४:३३

डडेल्धुरा । जिल्ला विकास समिति र गाउँ विकास समितिका कार्यालय भङ्ग गरिएपछि जिल्लास्थित घोषणा गरिएका पाँच गाउँपालिका र दुई नगरपालिकाका इलाका कार्यालय धमाधम उद्घाटन भइरहेका छन् ।

जिविसको कार्यालय र १८ गाविस रहेका डडेल्धुरा जिल्लालाई दुई नगरपालिका र पाँचवटा इलाकामा परिणत भएसँगै आइतबारदेखि लागू हुने गरी गाविसका कार्यालयलाई भङ्ग गरिएको जिविसले जनाएको थियो ।

स्थानीय तहका कार्यालय भङ्ग भएसँगै गाउँपालिकाका कार्यालयहरु धमाधम उद्घाटन हुन थालेका स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी गराउनुभयो ।

डडेल्धुरामा अमरगढी र परशुराम गरी दुई नगरपालिका र अजयमेरु, भागेश्वर, आलिताल, गन्यापधुरा र नवदुर्गा गरी पाँच इलाकामा १८ गाविसलाई विभाजन गरिएको हो ।

गाउँपालिका विभाजनसँगै इलाका कार्यालयहरुमा वरिष्ठ सचिवले कार्यकारी अधिकृतका रुपमा काम गर्ने गरी कार्यालय व्यवस्थापन पनि तीव्र गतिमा भइरहेको जनाइएको छ । गाविसबाट गरिने कामकाज वडा कार्यालय र अन्य कार्यहरु इलाकाबाट गरिने व्यवस्था रहने गरी सर्वसाधारणका कामकाज आगाडि बढाइने इलाका कार्यालयले जनाएको छ ।