☰ open Loading... 19 September 2024|  

खुलालु–हिल्सा सडक ट्रयाक खुल्यो
  | १ चैत्र २०७३, मंगलवार १२:१३

कालीकोट । कर्णाली करिडोर खुलालु–हुम्ला सडकखण्डअन्तर्गत कालिकोटको जितेदेखि फुगाडसम्म २२ किमि सडकको ट्रयाक खुलेको छ । सेनाले फुगाड नजिकैको चट्टानी भीर फुटाएपछि सडकले फुकोट र नानीकोट गाउँ छोएको हो ।

कर्णाली नदीको फेरी तारेर पारि लगिएका तीनवटा जिप फुगाड पुगेका छन् । शिलान्यास भएको १६ वर्षपछि सरकारले कर्णाली करिडोर खुलालु–हिल्सा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि कालिकोट खण्डको जिते सान्नीगाड हुँदै फुगाडसम्म २२ किमिमा ट्रयाक खुलेर गाडी चलेका हुन् । कालिकोटको सुख्खा खडेरीग्रस्त पलाता क्षेत्रका बासिन्दालाई आवागमनमा सहज हुने स्थानीय मानबहादुर शाहीले बताए ।

यस खण्डकै जितेदेखि सान्नीगाडसम्म १४ किमिमा गत कात्तिकदेखि ६ वटा बोलेरो जिप सञ्चालनमा छन् । अब रकु, मेहेलमुडी, मुम्रा, सिप्खाना, स्युना, फुकोट, बदालकोट र नानीकोट गाविस सडक सञ्जालमा जोडिए । यहाँका ९ हजार घरधुरीका ४५ हजार नागरिकले सडक सुविधा पाउने भएका छन् ।

भारतको जमुनियादेखि तिब्बतको हिल्सा जोड्ने उत्तर–दक्षिण करिडोर सडक विभागको डिजाइन स्टिमेटअनुसार सिंगल लेनको सडकको कडा चट्टान भएको खण्ड नेपाली सेनाले निर्माण गर्ने जिम्मा लिएपछि कामले गति लिएको हो । करिडोरकअन्तर्गत निर्माण बाँकी रहेको कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमिकोटसम्म कुल २ सय ८१ किमिमध्ये कालिकोट र बाजुरा र हुम्लाको सल्लीसल्लासम्मको १ सय ४५ किमि सडक खण्डमा ३ वटा क्याम्प राखेर सेनाले सडक निर्माण गरिरहेको छ ।

सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएपछि अचेल कालिकोटको लालीघाट र नानीकोटको राताडाँडामा क्याम्प खडा गरेर विस्फोटनसहितको काम भइरहेको छ । कडा चट्टान भएको अप्ठ्यारो सडक निर्माणमा अनुभवी नेपाली सेनाले खुलालु–सिमिकोट सडकको ३ वर्षभित्र ट्रयाक खोल्नेछ । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषित गरेको बहुचर्चित कर्णाली करिडोर खुलालु–हिल्सा सडक निर्माणले गति लिन थालेपछि स्थानीय खुसी छन् । आइतबार कालिकोटको जितस्थित कर्णाली नदीको फेरी तरेर रारा कर्णाली यातायातका जिप फुगाड पुगे ।
पहिलोपटक गाडी भीर छिचोल्दै फुगाड पुगेपछि स्थानीयले फूलमाला र अबिरले स्वागत गरेका थिए । गाउँको पुछारमा सडक पुगेको छ । सान्नीगाड गाडी पुगेको देखेपछि फुकोटका लक्ष्मीप्रसाद बरालले अचम्मित हुँदै स्थानीय लवजमा भने, ‘यस्तो अनकन्टार ठाउँमा गाडी आउन्ना ९आउलान्० सोचेकै थिइनँ,’ उनले आफूले कैलालीको कटासे र बर्दियाको राजापुरबाट पिठ्युँमा नुन बोकेर ल्याएको सुनाउँदै भने, ‘अब छोरानातिले सुविधा पाउने भए ।’

फुकोटको भात्तडीमा व्यावसायिक तरकारी खेती गरिरहेका शिवप्रसाद बरालले आफ्नो बारीको तरकारीले बजार पाउने आशा राखे । ‘वर्षौंदेखिको सडक सपना बल्ल पूरा भयो ।’ शिलान्यास भएको १५ वर्षसम्म पनि सडक निर्माणले गति लिन नसकेपछि सरकारलाई दबाब दिन लठ्ठी टेकेर मान्म पुगेका बरालले भने, ‘अब घरआँगनमै गाडी देख्न पाइयो ।’

यहीँको बाटोमा अब रारा कर्णाली यातायातले जिप सञ्चालन गर्न स्थानीय प्रशासनसँग रुट परमिट मागेको छ । सडकको अवस्था अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी गिरीधारी सुवेदी, स्थानीय विकास अधिकारी प्रदीपराज अधिकारी, प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खडका, रारा कर्णाली यातायातका अध्यक्ष हस्तबहादुर बमसहित १८ जनाको टोली गाडीमा सदरमुकाम मान्मबाट फुगाड पुगेर फर्किएको छ । ‘सडकको केही ठाउँमा माटो हाल्नुपर्ने अवस्था रहेछ,’ प्रजिअ सुवेदीले भने, ‘नत्र सडक निकै राम्रो छ ।’ उनले व्यवसायीसँग सडकको भाडा निर्धारणमा सहमति भएपछि जिप सञ्चालनको अनुमति दिने बताउँदै विकटका दाजुभाइका दुस्खका दिन सकिएको सुनाए । ‘केही ठाउँमा सडक अलि अप्ठ्यारो छ,’ रारा कर्णाली यातायात समितिका अध्यक्ष हस्त बमले भने, ‘टायर छिटो खिइने सडक भएकाले व्यवसायीलाई मर्का नपर्ने गरी भाडा कायम गरिनुपर्छ ।’ गाडी सान्नीगाडसम्म जान सक्ने भएपछि केही ढुवानीका मालबाहक गाडी र यात्रुबाहक जिप सञ्चालनका लागि स्थानीयले माग गरेका छन् ।

कहिले बजेटको अभाव त कहिले ठेकेदारले समयमा काम नगर्दा बजेट फ्रिज हुने समस्यामा परिरहेको ग्रसित कर्णाली करिडोर ९रुपैडिया–हिल्सा सडक खण्ड० अन्तर्गत कालिकोटको खुलालु–हुम्ला सिमिकोट सडकमा सडक विभागले आर्थिक वर्ष ०६५र०६६ देखि काम सुरु गरे पनि लक्ष्यअनुसारको प्रगति भएको थिएन । माटो भएको भाग मात्र कोट्याएर बजेट सके पनि गाडी चल्ने बाटो नबनेको एमाले विमल शाहीले बताए । ‘सधै बजेट छुट्याउने थोरै काम गरेजस्तो गरेर फ्रिज गराउने गरियो,’ शाहीले भने । लामो सयमसम्म पनि काम हुन नसकेपछि निर्माणको जिम्मा नेपाली सेनालाई दिन कालिकोटबासीले माग गरेका थिए । सेनाले जिम्मा लिएको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक दुई वर्षभित्र सम्पन्न भएर गाडी चल्न थालेकाले कालिकोटको भीर फुटाउन सेनालाई निर्माणको जिम्मा दिनुपर्ने मागसहित कालिकोटबासीले जिल्ला परिषद्मार्फत सरकारलाई अनुरोध गरेका थिए । राष्ट्रिय गौरवको आयोजना गतिशून्य जस्तै भएपछि सरकारले विस्फोटनसहित निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

पछिल्लोपटक सरकारले नेपाली सेनालाई सडक निर्माणको जिम्मा दिएपछि कालिकोटको कोटवाडा गाविसमा पर्ने लालीघाट, नानीकोटको राताडाँडा र बाजुराको भुक्का खोलामा क्याम्प खडा गरेर विस्फोटनसहित सडक निर्माणको काम गरिहेको छ । कालिकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमिकोटसम्मको कर्णाली करिडोर ०७६ भित्र सम्पन्न गर्ने गरी नेपाली सेनाले जिम्मा लिएको हो । सिमिकोट सडकका लागि सडक विभागको कुल २ अर्ब ८४ करोड ११ लाख १६ हजार लागत इस्टिमेट रहेको सडकमा हुम्ला खण्डको केही भागमा सडक विभागले ठेक्कामार्फत काम गरिरेहको छ भने कालिकोट र बाजुरामा सेनाले काम गरिहेको छ ।

सेनाले ढुंगामा प्वाल पार्ने ५ वटा कम्प्रेसर, ११ वटा रकड्रल, एक जेसिबी एक स्काइभेटरसहितका उपकरण साइडमा पुर्‍याएर काम गरेको छ । करिडोरअन्तर्गत कालिकोटको खुलालुमा सडक विभागले पक्की पुल निर्माण गर्नेछ भने अन्य ५ वटा बेलिब्रिज नेपाली सेनाले हाल्नेछ ।

ekanitpur