☰ open Loading... 25 November 2024|  

हिमपातले गमगढी–नाग्मा सडक अवरुद्ध
  | २ चैत्र २०७३, बुधबार ११:५७

भारी हिमपातका कारण गमगढी-नाग्मा सडक खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दर्जनौ सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । नेपालगञ्ज, सुर्खेतबाट यात्रु तथा कार्गो समान ल्याएका मालबाहक ट्रक, जीप, गाडी लगायत सवारीसाधन घुच्चीलेक, सातमोड, गोठीज्यूला, जुम्ला सिंजा क्षेत्र, नाग्मा एक सातादेखि अलपत्र परेका छन् ।

   भारी हिमपातका कारण दर्जनौ सवारीसाधन बीच बाटोमै अलपत्र परेको रारा छायाँनाथ यातायात प्रालिका सदस्य रामभक्त रोकायाले बताए । उनले हिउँ नपग्लिदासम्म सडक खुल्ने अवस्था नरहेको बताए ।   सिमित सवारीसाधन मात्र नभए जिल्ला अस्पताल ठिनीको बिरामी बोक्ने एम्बुलेन्स पनि बीच बाटोमा रोकिँदा बिरामी बोक्न कठिनाई भएको छ ।

हिमपातले बीच बाटोमा गाडी रोकिएपछि यात्रु र सवारी चालकलाई खाना बस्न कठिनाई भएको छ । गाडी छोडेर यात्रु हिँडेर गमगढी आउन थालेका छन् । हिमपात भएपछि करिव ९४ किलोमिटर रहेको गमगढी नाग्मा सडक खण्ड अवरुद्ध हुँदा जिल्लाबासीलाई मर्का हुने गरेको छ । विसं २०६९ साल पुस महिनादेखि सञ्चालनमा आएको गमगढी-नाग्मा सडक अझै कालोपत्रे हुन सकेको छैन ।