☰ open Loading... 25 November 2024|  

गाउँ पस्यो अनुगमन टोलीे
  | २ चैत्र २०७३, बुधबार १५:५५

सुर्खेतमा सूर्तीजन्य पदार्थको नियमन शुरु

सुर्खेत । सूर्तीजन्य पदार्थ नियन्त्रण नियमन सम्बन्धी जिल्ला स्तरीय निरीक्षण टोली गाउँ पसेको छ । पहिलो पटक राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारी सहित गाउँ पसेको निरीक्षण टोलीले  पूवी सुर्खेतको छिन्चुमा सूर्तीजन्य पदार्थको नियमन गर्न बजार अनुगमन गरेको हो ।

टोलीले प्राणघातक सुर्तीजन्य पदार्थको खुल्ला विक्री वितरण, रोकथाम तथा नियन्त्रणमा स्थानीयलाई सहयोग गर्न अनुरोध गरेको छ । छिन्चुका करिब एक दर्जन पसलमा कानून विपरित सूर्तीजन्य पदार्थको विक्री वितरण भइरहेको पाईएको टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले जनाए । उनले सबै विक्रेतालाई आइन्दा प्राणघातक सुर्तीजन्य पदार्थको विक्री वितरण कानून सम्वत मात्र विक्री वितरण  गर्न सुझाव दिएको जनाए ।

‘अर्को पटकपनि नियम विपरित विक्री वितरण गरेको पाइए कारवाही हुन्छ,’ उनले भने, ‘यो सबैको साझा मुद्दा भएकाले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न सबै लाग्नु पर्छ ।’ उनले सरकारी कार्यालय, शैक्षिक क्षेत्र, यातायात क्षेत्र, होटल, गैरसरकारी संघसंस्था र सञ्चार गृहहरुले कानुन कार्यान्वयनमा सहयोग पु¥याउन आग्रह गरे । जिल्लामा सूर्तीजन्य पदार्थको नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रका प्रमुख तथा पदाधिकारी, उपभोक्ता, सूर्तीजन्य नियन्त्रणमा लागेका संघसंस्थाहरुसँग समन्वय भईरहेको उनको भनाइ थियो ।

‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा नियमावली बनेपनि प्रभावकारी कार्यान्वयन पक्ष फितलो हुँदा नसर्ने रोकका कारण हुने मृत्यमा कमी आउन सकेको छैन्,’ राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका कोषाध्यक्ष लक्ष्मी ओली बयकले भनिन, ‘प्राणघातक र धननाशक सुर्तीजन्य पदार्थको बारेमा आम जनतामा जानकारी नहुँदा मृत्यमा कमी आउन नसकेको हो ।’

उनले ऐनमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बेचबिखनदेखि सेवन गर्नसम्म प्रतिबन्ध लगाइएको भएपनि खुलेआम विक्री वितरण भइरहेको बताईन् । उनका अनुसार टोलीले अनुगमनका क्रममा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरण गर्नेलाई नियमन निकायले सामान्य सम्झाई बुझाई छोडि दिने गरेको जनाईन् । ऐन  तथा नियमावली बनेको ३ वर्षमा जिल्ल्ला सुर्तिजन्य नियन्त्रण समितिले केही अनुगमन गरेपनि त्यो पर्याप्त हुन नसकेको सम्बद्धहरु बताउँछन् ।

सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रायोजन गर्न नपाइने, १८ वर्ष नपुगेका व्यक्ति तथा गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने, सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर घर पसलसम्मबाट बिक्री वितरण गर्न नपाइने ऐनमा व्यवस्था रहेको छ ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी न्यौपाने, प्रशासकिय अधिकृत हितप्रसाद पौडेल, उद्योग वाणिज्य संघ भेरीका उपाध्यक्ष मेघराज ढकाल, नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण समूह संस्था सुर्खेतका अध्यक्ष चन्द्रा विक, भेरीगंगा नपाका वडा सचिव नारायण बास्कोटा तथा छिन्चु प्रहरीको सहभागिता रहेको थियो ।