☰ open Loading... 24 November 2024|  

सुर्खेतमा मतदान केन्द्रमा सहमति जुटेन
  | ८ चैत्र २०७३, मंगलवार १६:४८

सुर्खेत । आगामी बैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र निर्धारणमा सहमति जुट्न सकेको छैन् । साबिकको वडा विभाजन नहुने गरी मतदान केन्द्र कायम गर्नुपर्ने मापदण्ड भएपनि यहाँका दुई स्थानमा विवाद लम्बिदा जिल्ला निर्वाचन कार्यालयले आयोगमा विवरणमा पठाउन नसकेको हो ।

निर्वाचन आयोगले जिल्ला कार्यालयलाई शनिबारसम्म केन्द्र निर्धारण गरिसक्न समयसीमा तोकेको थियो । जिल्ला निर्वाचन अधिकारी सुनिता थापाले स्थानीयस्तरबाट आएको विवरण आफूले पनि हु–बहु केन्द्रमा पठाउने जानकारी दिइन् । भेरीगंगा नपा ५ र वराहताल नपाको कुनाथरीमा मतदान केन्द्र मापदण्डविपरित सिफारिस भएका छन् ।

अन्तिम निर्णय केन्द्रले गर्ने भएकाले जिल्लाबाट प्राप्त विवरण पठाउने उनको भनाई छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ९ स्थानीय तह रहेको सुर्खेतमा करिब एक सय ३७ मतदान केन्द्र कायम हुने सम्भावना छ । त्यस्तै, १७ दल दर्ता छन् ।

निर्वाचन सम्पन्न गर्न निजामति, शिक्षक, स्वास्थ्यकर्मी र संस्थान क्षेत्रका गरी २ हजार ७ सय ७९ कर्मचारी परिचालन हुने भएका छन् । कूल एक लाख ८५ हजार ५ सय २२ मतदातामध्ये महिला ९५ हजार ७ सय ३०, पुरुष ८९ हजार ७ सय ९१ र तेस्रो लिंगी एक जना छन् ।