☰ open Loading... 20 April 2024|  

पुस्तौँदेखि ‘खुला’ कुलोको पानी पिउन बाध्य
  | १२ चैत्र २०७३, शनिबार १२:५५

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका बासिन्दा पुस्तौँदेखि खुला कुलोको पानी पिउन बाध्य छन् । स्वच्छ खानेपानीका अभावमा परापूर्वकालमा स्थानीयवासीले सिँचाइ गर्नका लागि खनिएको कुलाबाट ल्याइएको दूषित पानी पिइरहेका छन् । अहिले पनि त्रिपुराकोटका सयभन्दा धेरै घरधुरी कुलाको पानी प्रयोग गर्छन् ।

यहाँका मानिसहरु राजनीतिक दलका प्रमुखदेखि जिल्लाको शिक्षित समुदायका रुपमा परिचित भए पनि सर्वसाधारणलाई खानेपानीको स्वच्छ परिपूर्ति गराउनमा ध्यान जान नसकेकामा सर्वसाधारणले गुनासो गरेका छन् । “आजको जमानामा पनि कुलाको पानी सिधै खानुपर्ने बाध्यता छ, दूषित पानी प्रयोग गरेकै कारणले हामी पटक पटक बिरामी पर्ने गर्दछौँ” त्रिपुरासुन्दरी–१ का दुर्गाप्रसाद देवकोटाले भने ।

खोलाको बालुवायुक्त पानी सिधै प्रयोग गर्नुपर्ने बाध्यता भएकाले यहाँका धेरैजसो सर्वसाधारणमा पत्थरी रोगको समस्या देखिने गरेको छ । मान्छेमा दूषित पानी प्रयोग गरेकै कारणले ७० प्रतिशतभन्दा धेरै रोग लाग्ने गरेको छ । यहाँका मानिसहरु स्वास्थ्यचौकीमा रुघा, विषमज्वर, झाडापखालालगायत रोग लिएर जाने स्वास्थ्यकर्मी कविप्रसाद उपाध्याय बताउँछन् ।

वर्षात्का समयमा खोला बढेर माटोसहितको लेदो आउँदा पनि कुलाको पानी प्रयोग नगर्नाको विकल्प नरहेको स्थानीयवासीले गुनासो गरे । “सरकारले एक घर एक धारा स्वच्छ पिउने पानीको व्यवस्थाका लागि विभिन्न रणनीति तय गरे पनि हामी भने पुरानै युगमा बाँचेको जस्तो लाग्छ”, देवकोटाले बताए ।