☰ open Loading... 20 September 2024|  

बोआओमा बोल्दै प्रधानमन्त्री दाहालले भने: सिमान्तकृतलाई पनि समेट
  | १२ चैत्र २०७३, शनिबार १३:००

चीनको सुन्दर पर्यटकीय नगरी बोआओमा एशियाली मञ्चको वार्षिक सम्मेलन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, विश्वव्यापीकरणले विकास, प्रगति र समृद्धिलाई मलजल गरेको छ र यसले केही दशकमै कनेक्टिभिटी, गतिशीलता र समावेशीता जस्ता आधारभूत कुरामा व्यापक परिवर्तन ल्याएर मानव जीवनस्तर उकासेको छ।’

सम्मेलन शनिबार बिहान उद्घाटन भएको थियो। सम्मेलनमा प्रधानमन्त्री दाहालले ‘विश्वव्यापीकरण र स्वतन्त्र व्यापार’ शीर्षकमा आफ्नो सम्बोधन दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

प्रधानमन्त्री दाहालले आफ्नो सम्बोधनमा ‘विश्वव्यापीकरण र स्वतन्त्र व्यापारले सीमान्तकृत र पछि पारिएको समूहलाई पनि अगाडि ल्याउनुपर्ने’ बताउँदै विश्वव्यापीकरणले विश्वलाई समृद्ध बनाएको तर्क गरे। ‘तर पनि यसको समान पहुँचमा सबै एशियाली देशले पर्याप्त लाभ लिन नसकेकोतर्फ पनि ध्यान दिनुपर्ने’ भनाइ प्रधानमन्त्रीले राखे।

एशिया विश्व अर्थतन्त्रको ‘पावर हाउस’ भएको भन्दै प्रधानमन्त्री दाहालले सम्बोधनमा ‘विश्व अर्थतन्त्रलाई गति दिने र आविष्कारको हव बन्ने दिशमा एशिया अघि बढेको’ जनाए। समावेशितालाई अनिवार्य गर्न सकेमा २१औं शताब्दी भाग्योदय र साझा फाइदाको शताब्दी बन्ने बताउँदै प्रधानमन्त्रीले विश्वव्यापीकरणलाई एशियाली मोडल बनाएर अघि बढ्नुपर्ने सुझाए। नेपालजस्ता भूपरिवेष्ठित मुलुकलाई ड्युटी फ्री, लचिलो व्यापार प्रक्रिया, क्षमतायुक्त व्यापारको वातावरण, सहज पारवहन, लगायतमा सहुलियत दिनुपर्ने प्रधानमन्त्री दाहालले औंल्याए।

बोआओ मञ्चको वार्षिक सम्मेलनलाई शनिवार चिनियाँ उपप्रधानमन्त्री चाङ् काउलीले उद्घाटन गर्दै मुख्य विषयमा सम्बोधन गरे। सम्मेलनको शुरुवातमा चिनियाँ राष्ट्रपति सी सिन पिङले शुभकामना सन्देश पठाएका थिए।

आफ्नो सन्देशमा सीले बोआओ एशिया मञ्च सोह्र वर्षसम्म चले यता, एशिया आधारित विश्व उन्मुख भएर एशियाको मतैक्यलाई प्राप्त गराइँदै एशियामा सहयोगलाई अघि बढाइँदै आएको औंल्याए। साथै उनले सो मञ्चले एशियाको प्रभावलाई उकास्न महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आएको प्रकाश पारेका छन्।

सम्मेलनमा माडागास्कारका राष्ट्रपति हेरि राजाओनारिमामपियानिना, संघीय राज्य माइक्रोनेसियाका राष्ट्रपति पिटर क्रिस्चियन, अफगानिस्तानका सभामुख फाजेल हादी मुस्लिम्यार, म्यानमारका उपराष्ट्रपति मिन्ट स्वे लगायतले पनि सम्बोधन गरेका छन्।