सुर्खेत । कांग्रेस सुर्खेतको जिल्ला अधिवेशन भएको १४ महिनापछि उपसभापति, सचिव र सहसचिव मनोनयन गरिएको छ । नेपाली कांग्रेस सुर्खेतका सभापति सभापति कमलराज रेग्मीको अध्यक्षतामा बिहीवार दिउसो बसेको बैठकले सर्वसम्मतरुपमा जिल्ला समितिमा उनीहरुलाई मनोनयन गरेको हो ।
बैठकले जिल्ला उपसभापतिमा टेकबहादुर सिंह (अवलचिङ), सचिवमा भूपेन्द्र खत्री (उत्तरगंगा) र सहसचिवमा शोभा शर्मा (पोखरीकाँडा)लाई सर्वसम्मत चयन गरेको जनाएको छ । दुई सचिवमध्ये एक जना निर्वाचित र एक जना मनोनित हुने कांग्रेसको विधान उल्लेख छ । जसमा अधिवेशनबाट सचिवमा टोपबहादुर सिंह निर्वाचित भइसकेका छन् ।
हो । उपसभापतिमा मनोनित भएका सिंह अघिल्लो कार्यसमितिमा सचिव थिए भने सचिव खत्री अघिल्लो कार्यसमितिमा सहसचिवको जिम्मेवारी निर्वाह गरेका थिए । यस्तै सहसचिवमा मनोनित शर्मा पनि अघिल्लो कार्यसमितिमा जिल्ला सदस्य थिइन् । कार्यदक्षता, क्रियाशील, अनुभवी र जुझारुपनका आधारमा उनीहरुलाई जिम्मेवारी दिइएको कांग्रेस सुर्खेतले जनाएको छ ।
कूल ३३ सदस्यीय जिल्ला कार्यसमितिमा जिल्ला अधिवेशनबाट २३ जना निर्वाचित भइसकेका छन्भने मनोनित ९ जनामध्ये ७ जनाको मनोनयन भएको छ । अव दुई जना मात्र मनोनित हुन बाँकी रहेको जनाइएको छ । यसैगरी बैठकले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण नेता तथा कार्यकर्ता, भातृसंगठनहरु, शुभेच्छुक संघसंगठन, उद्योग व्यवसायी, शिक्षक कर्मचारीलगायत सवैलाई पार्टीलाई जिताउन आ—आफ्नो स्थानबाट सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको छ ।