☰ open Loading... 1 May 2024|  

सामुदायिक वनका अध्यक्षले नै काठ तस्कर गरेपछि…
  | १७ चैत्र २०७३, बिहीबार १९:२५

दाङ । सामुदायिक वनको रक्षागर्न बनेको सामुदायिक वन समूहका अध्यक्ष नै काठ चोरी तष्करीमा संलग्न भएको रहस्य खुलेको छ । देउखुरी राप्तीपारीको राजपुर गाउँपालीका–५ स्थित काजोल सामुदायिक वन समुहका अध्यक्ष मदन भण्डारीले रा.१ त. १३७७ नम्बरको आफ्नै ट्याक्टरमा काठ राखेर नर्तितर्फ पठाउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

गढवा इप्रकाका प्रहरी निरिक्षक प्रमोद क्षेत्री सहितको बिशेष गस्ति टोलीले लमही नगरपालीका स्थित कोलहीमा ३५ थान चिरान घप्पु सहित काठ ढुवानीमा प्रयोग गरिएको ट्याक्टर समेत बरामद गरेको छ । ट्याक्टरको तलतिर ३५ थान चिरान घप्पु चाँदेर राखिएको र त्यसको माथी धानका बोराहरुले ढाकेर लोड गरि लैजादै गरेको अवस्थामा बिशेष सुराकीको आधारमा पिछा लागेको प्रहरीको गस्ती टोलीले बरामद गरेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

प्रहरीले ट्याक्टर, चिरान काठ ३३.७२ क्यूफिट काठसहित राजपुर–५ का आनन्द सिंह भण्डारी र चालक सोही ठाउँ निवासी लिलाराम चौधरीलाई पक्राउ गरेको जनाएको छ । सामुदायिक वनका अध्यक्ष भने फरार रहेको बताईएको छ । पक्राउ गरिएका ट्याक्टर, काठ तथा अभियुक्तहरुलाई प्रहरीले सेक्टर वन कार्यालयमा बुझाएको र थप अनुसन्धानकालागी सेक्टर वन कार्यालय गढवाले जिल्ला वन कार्यालयमा पठाएको छ ।

वन ऐन बमोजिम जिल्ला वन कार्यालयले अनुसन्धान अधिकृत नियुक्त गरी आवश्यक अनुसन्धान गर्ने र बिगोसहित अभियुक्तहरुलाई अदालतमा पठाईने सेक्टर वन कार्यालय गढवाका सहायक वन अधिकृत चन्द्र गुरुङले जानकारी दिए । सामुदायिक वन समुहका अध्यक्ष नै काठ चोरी निकासीमा संलग्न भएको स्थानिय उपभोक्ताहरु बताउँछन् ।