☰ open Loading... 26 November 2024|  

निर्वाचनप्रति महिला र युवाको जागरुकता
  | १८ चैत्र २०७३, शुक्रबार १९:१३

डडेल्धुरा। स्थानीय निकायको निर्वाचनको समय नजिकिँदै गर्दा जिल्लामा राजनीतिक दलसँगै महिला र युवा जागरुक भएका छन् । स्थानीय तहमा आफ्नो अधिकार सुनिश्चित भएपछि महिला निर्वाचनका लागि अग्रसर भएका हुन् । जिल्लामा पाँच गाउँपालिका र दुई नगरपालिका तथा गाउँ र नगरका वडामा महिला तथा युवा निर्वाचन प्रचारप्रसारमा जुट्नुका साथै आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन् ।

पहिलो पटक स्थानीय तहको निर्वाचनमा मत हाल्ने मौका आएको बताउने डडेल्धुरा बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुमी भण्डारी युवालाई उसको क्षमताको आधारमा नेतृत्व दिइनुपर्ने धारणा राखिन ।

स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा चहलपहल बढ्दै गर्दा हरेक पार्टीका गतिविधिमा महिला तथा पहिलो पटक मतदानमा सहभागी हुन गइरहेका युवाको उत्सुकता र सहभागिता बढिरहेको महिला सङ्घ डडेल्धुराका पूर्वअध्यक्ष नारु ओझा बताउँछन् ।

महिलालाई दिएको आरक्षण र पहिलो पटक मतदानमा सरिक हुने अवसर पाएर युवा वर्ग हौसिएको छ । गाउँपालिका र नगरपालिका प्रमुख तथा उपप्रमुखमध्ये एक पद अनिवार्य महिलालाई दिनुपर्ने भएपछि हरेक राजनीतिक दलबाट महिला उम्मेदवारको खोजी हुन थालेको छ । डडेल्धुरामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत १३ राजनीतिक दलले चुनावी प्रतिस्पर्धा गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।