☰ open Loading... 25 November 2024|  

उम्मेदवार छनोटका लागि कांग्रेसले पनि तय गर्यो मापदण्ड
  | १९ चैत्र २०७३, शनिबार २०:३७

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय चुनावका लागि उम्मेदवार छान्न मापदण्ड बनाएको करिब एक हप्तापछि कांग्रेसले पनि मापदण्ड बनाएको छ । कांग्रेस मुख्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकले मापदण्ड बनाएको हो । मापदण्ड अनुसार गाउँपालिका र नगरपालिकामा प्रमुख–उपप्रमुख, बडाध्यक्ष र सदस्यको उम्मेदवार छनोट क्षेत्रीय कार्यसमितिले गर्नेछ ।

एउटा निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सम्वन्धित गाउँ, नगर, महानगर वडा, उपमहानगर वडा समन्वय समितिले सिफारिस गर्नुपर्ने छ । त्यसैगरी सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र क्षेत्रीय सभापतिका निकटमत प्रतिद्वन्द्वी समेतको उपस्थितिमा क्षेत्रीय कार्यसमितिबाट सर्बसम्मत निर्णय गर्नु पर्ने मापदण्डलाई कांग्रेसले अघि सारेको छ ।

सर्वसम्मत निर्णय हुन नसके आजसम्म कायम क्षेत्रीय पदाधिकारी, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र क्षेत्रीय सभापतिका निकटमत प्रतिद्वन्द्वी समेतको सहमतिमा उम्मेदवार छनौट हुनेछ ।

दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका र नगरपालिकामा प्रमुख –उपप्रमुख, बडाध्यक्ष र सदस्यको उम्मेदवार छनौट जिल्ला कार्यसमितिले गर्नेछ ।

उम्मेदवारको नाम सम्वन्धित क्षेत्रको सिफारिस गर्नेछ र, क्षेत्रीय सभापति, जिल्ला सभापतिका निकटमत प्रतिद्वन्द्वी, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद र प्रत्यक्षतर्फका उम्मेदवार समेतको उपस्थितिमा जिल्ला कार्यसमितिबाट सर्बसम्मत निर्णय गर्नु पर्नेछ ।

सर्वसम्मत निर्णय हुन नसके आजसम्म कायम जिल्ला पदाधिकारी, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र जिल्ला सभापतिका निकटमत प्रतिद्वन्द्वी समेतको सहमतिमा उम्मेदवार छनौट गर्नु पर्नेछ । क्षेत्रीय वा छनोट समितिले सर्वसम्मत सिफारिस गरेका नामलाई जिल्लाले अनुमोदन गर्नु पर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

पहिलाे न्युज