☰ open Loading... 23 November 2024|  

काँग्रेसको निर्वाचन तयारी तीव्र
  | २२ चैत्र २०७३, मंगलवार २१:५७

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर तीव्र तयारी थालेको छ । गठन भएदेखि दिनहुँ विभिन्न तहगत छलफलमा जुटेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले निर्वाचनको तयारी स्वरुप मंगलवार पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्वजिल्ला सभापति, पूर्वसांसद र पार्टीका शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीसँग निर्वाचनका बारेमा छलफल र परामर्श गरेको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिको बैठकले निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन आआफ्ना सङ्गठनलाई केन्द्रदेखि स्थानीय तह (वडा तह) सम्म परिचालन गर्न निर्देशन दिएको पार्टी कार्यालयले जनाएको छ ।

बैठकले जिल्ला, क्षेत्र, गाउँ÷नगर र वडा तहसम्म निर्वाचन परिचालन समिति गठन गर्दा भ्रातृ एवम् शुभेच्छुक संस्था, पेसागत तथा बुद्धिजीवीसँग समन्वय गरी निर्वाचन अभियानलाई तीव्रता दिन पार्टीका स्थानीय निकायलाई निर्देशन दिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै स्थानीय तह निर्वाचन २०७४ का लागि पार्टीका तर्फबाट घोषणापत्र तयार गर्न केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठित समितिले विभिन्न तहमा सुझाव सङ्कलन गर्ने कार्य अघि बढाएको छ ।

समितिले सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको उपस्थितिमा विभिन्न पेसागत बुद्धिजीवीसँग बुधबार पार्टीको केन्द्रीय कार्यालयमा छलफल गर्ने पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।

त्यस्तै काँग्रेसले घोषणापत्रका बारेमा सुझाव लिन केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक यही चैत २५ गते व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वर बस्ने जनाएको छ ।