☰ open Loading... 26 December 2024|  

थारु बस्तीका मतदाता चुनावप्रति उत्साहित
  | २५ चैत्र २०७३, शुक्रबार १५:३८

धनगढी । स्थानीय तहको चुनावप्रति थारु मतदाता उत्साहित भएका छन् । थरुहट तथा मधेस केन्द्रीत पार्टीका नेताहरुले संविधान संशोधन गरेर सबै पक्षलाई चुनावमा आउने वातावरण सृजना गर्नुपर्ने माग गरिरहँदा थारुबस्तीका मतदाताले चुनावप्रति उत्साहित भएका हुन् । विभिन्न दलका चुनावी गतिविधिहरु बस्तीमा सुरु भएसँगै त्यहाँका मतदाता थप उत्साहित भएका छन् ।

कैलाली जिल्लाको मध्य क्षेत्रमा थारुबस्तीको बाहुल्यता छ । नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपालगायत निर्वाचन पक्षधर थारु नेता तथा कार्यकर्ता अहिले चुनावी भेटघाटमा जुटेका छन् । थारु समुदायको मत आफ्नो पक्षमा कसरी पार्ने र नेतृत्व कसलाई दिने भन्ने बारेमा समेत चर्चा परिचर्चा हुन थालेका छन् ।

स्थानीय तहको चुनावका लागि प्रचारप्रसार व्यापक भइरहँदा जनतामा चुनावी उत्साह जागेको नेकपा (माओवादी केन्द्र)की उर्मिला चौधरीले बताइन ।  संविधानको कार्यान्वयनका लागि पनि निर्वाचन जरुरी रहेको नेपाली काँग्रेसका गरिबदास चौधरीले बताए । “मैले स्वायत्त क्षेत्र कैलारी गाउँपालिकामा अध्यक्ष पदमा लड्ने योजना बनाएको छु”, चौधरीले भने – “जनता निर्वाचनप्रति निकै उत्साहित भएका छन् ।”

संविधान संशोधन गरेर प्रदेश सीमाङ्कन नसच्याएसम्म चुनाव गरिनुहुन्न भन्ने आफूहरुको माग रहेको थरुहट सङ्घर्ष समितिका कैलाली जिल्ला प्रवक्ता माधव चौधरीले बताए । चुनावबाट टाढा जाने आफूहरुको सोच नरहे पनि थारुका मागलाई संविधान संशोधनमार्फत सम्बोधन गरेपछि मात्र चुनावमा जाँदा उचित हुने चौधरीको धारणा छ ।

एउटा पक्षले चुनावमा सहभागी हुने वातावरण नबनेको बताउँदै आएको र अर्को पक्षले चुनावका गतिविधि सञ्चालन गरिरहँदा आफूहरु केही अलमलमा परेको भए पनि आमजनता आफ्ना प्रतिनिधि छान्न आतुर देखिएको कैलारी गाउँपालिकाका बुधराम चौधरीले बताए ।