☰ open Loading... 13 January 2025|  

चुनाव चिन्ह नदिने भ्रष्ट प्रचण्डलाई तह लगाउछौं ः भट्टराई
  | २६ चैत्र २०७३, शनिबार २०:३५

सुर्खेत । पुष्पकमल दाहाल प्रचण्डले चुनाव चिन्ह नदिए धन आर्जन गर्नमा लिप्त प्रचण्डलाई तह लगाएरै छाड्ने उद्घोष नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले अहिलेसम्मका भ्रष्ट नेता प्रचण्ड भएको आरोप लगाउँदै भने,–‘चुनाव चिन्ह नै नदिने, यो निर्दलीयतन्त्र हो । लोकतन्त्रका लागि हामी अन्तिमसम्म लड्नेछौं, चुनाव चिन्ह कसरी लिनु पर्छ त्यसको उपाय हामीसंग छ ।’  

रफत सञ्चार क्लवले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले प्रचण्ड सरकारले चुनाव चिन्ह नदिए धुलो चटाएरै भएपनि चुनाव चिन्ह ल्याउने दावी गरे ।

लोकतन्त्रविरुद्ध जानेलाई कुर्सीबाट खसाल्ने परम्परा नै रहेको भन्दै उनले भने, ‘प्रचण्ड सरकारलाई धुलो चटाएर छाड्छौं, राजनीतिक लडाई अव शुरु हुन्छ ।’ प्रचण्डकै निर्देशनमा संसदमा नभएका दलहरुलाई दलीय चुनाव चिन्ह नदिने निर्णय गरेको उनको आरोप थियो ।संसदमा नभएको दललाई चुनाव चिन्ह नदिएर प्रचण्डले ठुलो भूल गरेको उनको तर्क छ ।

लोकतन्त्र र संविधान विरोधी प्रचण्ड भएको बताए ।संविधान संशोधन गरेर मात्र चुनाव गराउन आग्रह गरेका भट्टराईले प्रचण्ड सरकार संविधान संशोधन गर्नकै लागि बनेको जिकिर गरे । देशमा जारी राजनीतिक संकट समाधानका लागि तोकिएकै मितिमा चुनाव सम्पन्न हुनुपर्ने उनकोे भनाइ छ ।

‘वर्तमान सरकार निरकुंश बन्दै गएको छ, ठूला दलहरु तानाशाह बन्ने दाउमा छन’ उनले थपे–े,‘लोकतन्त्रमा सबैले जनताको बीचमा जान पाउनु पर्दछ, हामी पनि जनताबाट अनुमोदित हुन चाहान्छौं ।’ वर्तमान सरकार सत्ताको स्वादमा मात्र अल्झिएको भन्दै उनले प्रचण्ड सरकार अहिलेसम्मकै भ्रष्ट भएको आरोप लगाए । ‘प्रचण्ड देश र जनाताको हितभन्दा धन आर्जन गर्नमा लिप्त छन्’ संयोजक भट्टराईले भने,–‘सत्ताको दुरुपयोग गरेर बस्नुभन्दा कुर्सी छोड्दा नै राम्रो हुन्छ ।’