☰ open Loading... 27 November 2024|  

यसरी सम्झनछन् चेतन पुरीलाई सम्राट र राजु
  | ३ बैशाख २०७४, आईतवार १०:०९

समाजसेवामा चेतनको योगदान

ठुलो मान्छे हुन पढेर मात्र हुँदैन, समाजका लागिसमेत केही गर्नुपर्छ भन्ने मान्यता बोकेका चेतन पुरीसंग मेरो भेट चार वर्षअघि लायन्स क्लवकै कार्यक्रममा भएको हो ।

छोटो समयमा आफुलाई प्रिय पात्र बनाउन सक्ने क्षमता चेतनसँग थियो । अरुको खुशीमा नै आफ्नो खुशी लुकेको देख्ने चेतनले आफू कहाँ आउने व्यक्तिलाई के भन्दा र उसका लागि के गर्दा खुशी हुन्छ भन्ने कुराको ज्ञात थियो ।

त्यसैले होला सानो उमेरमै समाज सेवाको क्षेत्रमा निकै अघि बढेका थिए उनी । लायन वर्ष २०११–१२ मा लायन्स क्लव अफ सुर्खेत बुलबुलेमा आवद्ध हुनु अगावै समाजसेवामा सक्रिय पुरीको समाजसेवाको यात्राले लायन्स क्लवमा आवद्ध भएपश्चात गति लिएको थियो ।

चेतनकै सत्रियतामा लायन्स क्लव अफ बुलबुलेले वीरेन्द्रनगर–१, धारापानी पोख्रीमा अवस्थित राष्ट्रिय प्राथमिक आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम सम्पन्न गरियो । जसमा चेतनले व्यक्तिगत रुपमा एक सय ५० थान स्कुल झोला उपलब्ध गराएका थिए ।

उक्त कार्यक्रम सो विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर बृद्धि गर्नका लागि पहिलो खुड्किलो थियो । उक्त कार्यक्रममा विवेक थापाले विद्यालयका पुराना तथा जीर्ण अवस्थामा रहेको छानोलाई मर्मत गर्नेकार्य गर्नुभयो । जिल्ला शिक्षा कार्यालय सुर्खेतले पहिलो पटक राहत शिक्षककोसमेत दरबन्दी प्रदान ग¥यो ।

विद्यालयका विद्यार्थीको भविष्य मात्र नभई उनीहरुको घर परिवारकोसमेत स्तरमा बृद्धि गर्नुपर्छ भन्ने सोचका साथ चेतनले उक्त स्कुलमा अध्ययनरत छात्र–छात्राहरुको परिवारलागायत सम्पूर्ण गाउँकालागि आफ्नो जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ शिविरको आयोजनासमेत गरे ।

नेपाल स्वास्थकर्मी संघ सुर्खेतको सहयोगमा सञ्चान गरिएको सो कार्यक्रममा पाँच सय जनाको निःशुल्क स्वस्थ्य परिक्षण गरिएको थियो । नवज्योति केन्द्रसंगको सहकार्यमा वीरेन्द्रनगर–१ मा नवज्योति युवा केन्द्र स्थापना गरि सो क्षेत्रका युवाहरुलाई समाज सेवाको क्षेत्रमा अगाडी बढाउनुका साथै समाज रुपान्तरणका लागि निरन्तर रुपमा चेतनले आफ्ना कार्यहरुलाई अगाडी बढाउँदै लगे ।

सामाजिक कार्यमा असाध्यै रुची राख्ने चेतनले क्लवका कार्यहरुमा निकै सक्रिय रुपमा सहभागीता जनाउँदै अन्य सामाजिक कार्यहरुमासमेत आफ्नो तर्फबाट सक्दो सहयोग गरिनै रहे ।

उनको सामाजिक कार्यमा निरन्तरता र दृढ संकल्पले गर्दा नै अहिले वीरेन्द्रनगर–१ स्थित राष्ट्रिय प्राथमिक विद्यालयको स्तरोन्नति भएको छ । नवज्योति केन्द्रको सहयोगमा बाल बिकास केन्द्र संञ्चालन भएको छ । उक्त विद्यालयका लागि दुई कोठाको पक्की भवनकोसमेत निर्माण हुने चरणमा छ जुन चेतनकै पहलमा भएको हो ।

लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ वी २ नेपालको तेस्रो क्याविनेट बैठक सुर्खेतमा गर्ने निर्णय गरियो र उक्त कार्यका लागि मलाई संयोजक तोकियो । सो बैठक सम्पन्न गर्नका लागि चेतनले सांस्कृतिक पाटामा मलाई सघाएका थिए । जसको फलस्वरुप उक्त बैठक डिस्टिक ३२५ वी २ को इतिहासमा हालसम्मकै उत्कृष्ट बैठकको रुपमा चर्चा गरिन्छ ।

उक्त बैठक पश्चात सुर्खेतमा नयाँ लायन्स क्लवको स्थापना गर्नुपर्छ भनि भूपेन्द्र विसी र चेतन पुरीसंग निरन्तर मेरो छलफल तथा संवाद भईरह्यो । लायन्स क्लव अफ सुर्खेत मध्यपश्चिमको स्थापना भयो । भूपेन्द्रकुमार विसीको अध्यक्षतामा स्थापना भएको क्लवमा चेतन आफू तृतीय उपाध्यक्षमा निर्वाचित भए ।

वीरेन्द्रनगरको बाङ्गेसिमल बजारमा पहिलो पटक रत्तदान कार्यक्रमको आयोजना गर्नका लागि चेतनको महत्वपूर्ण भुमिका रह्यो । क्लवको स्थापना पश्चात लायन्स क्लवमा अझ सक्रिय रुपमा सामाजिक कार्यहरुमा चेतन संलग्न रहे ।

वार्षिक रुपमा धारापानी स्कुलमा शैक्षिक सामाग्री, खानेपानीको ट्याङ्की, खेलकुद सामाग्रीहरु प्रदान गर्ने कार्यहरुलाई लायन्स क्लवमार्फत मात्र नभई नवज्योति केन्द्र, वीरेन्द्रनगर जेसीज जस्ता सामाजिक संस्थाहरुमार्फत निरन्तरता दिने काममा चेतन अहोरात्र लागि परेका थिए । दैलेखमा भएको मोतियाविन्दूको निःशुल्क अप्रेशनमा उनी आफै क्लववको तर्फबाट प्रतिनिधि भएर प्रत्यक्ष रुपमा संलग्न भए ।

लायन्स क्लवमा आबद्ध भएर सुर्खेतमा मात्र नभएर चेतनले दैलेख जिल्लामासमेत सामाजिक कार्यहरु गरेका थिए । राउटे बस्तीमा खाद्यान्न, लत्ता कपडा तथा स्वस्थ्य शिविरको आयोजना गर्दा आफु कार्य व्यस्तताका कारण उपस्थित हुन नसकेता पनि चेतनले सक्दो सहयोग गरेका थिए ।

समाज सेवाको क्षेत्रमा निकै सक्रिय चेतनको लागि साँचो श्रद्धाञ्जली उनको सामाजिक कार्यहरु प्रतिको चाहना र इच्छाहरुलाई पुरा गर्नु नै हुनेछ । सो कार्यका लागि मलगायत सम्पूर्ण लायन्स सदस्यहरु सदैव लागि पर्नेछौ । चेतनको असामयिक निधनले एउटा असल मित्र र निः स्वार्थ समाजसेवीलाई सुर्खेत जिल्लाले गुमाएको छ ।

चेतन पुरीः कुशल व्यवसायी

पढेर मात्रै हुँदैन परेर पनि धेरै पाठ सिकिन्छ भन्ने विशाल सोचका धनी चेतन पुरी व्यवसायीक तवरले फेन्सी पेशामा आवद्ध आधिकारिक व्यापारी हुन् । परिवारको जेष्ठ सुपुत्र पुरी फेन्सी व्यवसायमा एक दशकदेखि आवद्ध थिए ।

उनी फेन्सी व्यवसायी मात्रै नभएर सुर्खेतका प्रतिष्ठित सामाजिक अभियन्ता पनि थिए । उनको परिचय यतिमै सिमित छैन् । उनी कलाकारितामा पनि उत्तिकै सक्रिय थिए । उनी आफूजस्तै व्यवसायीका कुशल मित्र थिए । आफू मात्रै होइन्, सबै ‘बन्नुपर्छ’ भन्ने विचार राख्थे ।  सुर्खेत उद्योग वाणिज्य संघ अन्र्तगतको रेडिमेट तथा फेन्सी व्यवसायी समितिको सदस्य हुँदै दोस्रो कार्यकाल सचिव रहेका पुरी एक होनाहार, प्रखर र सक्रिय व्यवसायीका रुपमा सुर्खेतमा स्थापित थिए ।

उनले भन्ने गर्थे, ‘राजु सर तपाईहरु सय पिस कपडा देखाएर एक पिस खुद्रा विक्री गर्नुहुन्छ तर म एक पिस देखाएर सय पिस बेच्छु ।’ उनले भनेको यो कुरा अहिले मेरो मानसपटलमा आइरहन्छ । उनी सधैं भन्ने गर्थे, व्यक्तिगत लोभ र लालचा भन्दा आवद्ध व्यवसायीहरु एकजुट भएर लक्ष्य प्राप्तीको बाटोमा अघि बढ्नुपर्छ ।

हामीहरुले प्रयाप्त लत्ताकपडा भित्र्याएका छौं । पाँच सय भन्दाबढी व्यवसायीहरु रेडिमेट तथा फेन्सी व्यवसायमा आवद्ध छौं । यो एउटा ठूलो शक्ति हो । राजनीतिक आस्था र व्यक्तिगत स्वार्थ भन्दामाथि रहेर समन्वय गर्दै काम गर्न सकेको खण्डमा ऋण गरेर काठमाडौंलगायतका ठूला शहरमा दौडेर समान सुर्खेत भित्र्याउनु पर्दैन् । सबै व्यवसायीहरु मिलेर ग्राहकहरुका लागि भरपूर सामान उपलब्ध गराउन सक्छौं । पसल मात्रै नभएर सबैका गोदाममा समानहरु थन्किएका छन् । तर एकले अर्कोसँग समन्वय नहुँदा सहकार्य हुन सकेको छैन् ।

उनी भन्ने गर्थे सुर्खेतमा छरिएर रहेका सबै व्यवसायीहरुको भेला गरेर समन्वय गर्दै काठमाडौं मात्रै नभएर सबै व्यवसायी मिलेर चीन, थाइल्याण्ड, बंगलादेश, भारतलगायतका देशहरुबाट सिधै सुर्खेतमा कन्टेनर ल्याउने प्रवन्ध गर्नुपर्छ । यसो गर्दा व्यवसायी मात्रै होइन्, ग्राहकलाई पनि फाइदा हुन्छ ।

सस्तो मूल्यमा ग्राहकलाई सामाग्री पु¥याउन सकिन्छ भन्ने उनको चाहना थियो । यस्तै अहिले व्यवसायीहरुबीच एकताको कुरो मात्रै होइन्, मूल्यमा पनि एकरुपकता छैन् । मूल्यमा एकरुपकता ल्याउनका लागि पनि व्यवसायीहरुबीच एकता हुनुपर्छ भन्ने उनको मान्यता रहँदै आयो ।

उनी पछिल्लो समय व्यापारिक राजनीतिमा पनि अग्रसर थिए । पाँच सय बढी सदस्य रहेको रेडिमेट तथा फेन्सी व्यवसायी समिति सुर्खेत उद्योग वाणिज्य संघको दोस्रो शक्ति हो । दोस्रो शक्ति जहिले पनि ओझेलमा पर्ने गरेको छ । अवको चुनावमा पदाधिकारीमा फेन्सी व्यवसायीबाट प्रतिनिधी पठाउने कुरामा उनी सक्रिय थिए ।

त्यसका लागि निरन्तर लागिरहेका थिए । अधिकांस व्यवसायीहरुको फाइदा कमाउने मात्रै सोच हुन्छ । सामाजिक सेवाभाव कमैमा हुन्छ । उनी आफूले गरेको आम्दानीको केही अंश सामाजिक क्षेत्रमा खर्च गर्दै आइरहेका थिए । चेतनकै सक्रियतामा हामीले सुर्खेतका बाढीपहिरो पीडितहरुका लागि लत्ताकपडा वितरण ग¥यौं ।

जाजरकोटमा भएको महामारीमा सहयोग ग¥यौं । वीरेन्द्रनगर–१ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई उनकै सक्रियतामा पोशाक र झोला उपलब्ध गरायौं । अखण्ड मध्यपश्चिम आन्दोलनको माहोल बनाउने अभियानमा पनि उनको महत्वपूर्ण योगदान रह्यो ।

चेतन, रामप्रसाद पाण्डे, प्रेम पाण्डे, बुद्ध लामा, लक्ष्मीपूजा फेन्सी, केवी इन्टरप्राइजेज, मलगायतका फेन्सी व्यवसायी साथीहरु मिलेर छ सय भन्दाबढी टिसर्ट छापेर निःशुल्क वितरण ग¥यौं । त्यहीँ आन्दोलनको आगोले अहिले हामी छैटौं प्रदेशका बासिन्दा भएका छौं ।

व्यवसायी हकहितका साथै समाज सेवाको क्षेत्रमा उनले पु¥याएको योगदान साँच्चै हाम्रा लागि प्रेरणाको विषय छ । उनको सामाजिक कार्यहरु प्रतिको चाहना र इच्छाहरुलाई पुरा गर्नु अहिलेको आवश्यकता हो । हामीले एक असल साथी, व्यवसायी, सामाजिक अभियन्ता गुमाएका छौं । उनको योगदानलाई दीर्घकालसम्म स्थापित बनाउनका लागि मलगायत फेन्सी व्यवसायीहरु हरपल लागिरहने प्रतिवद्धता जनाउँछौं ।

लेखक रेडिमेट तथा फेन्सी व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष हुन् ।

स्रोत : हाम्रो अखवार दैनिक