☰ open Loading... 27 November 2024|  

चुनाव सार्न सकिंदैन : उपप्रधानमन्त्री थापा
  | ५ बैशाख २०७४, मंगलवार १७:५९

उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनाव कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् । राप्रपाले मंगलबार तुलसीपुरमा आयोजना गरेको राप्ती अञ्चल स्तरीय सभालाई सम्बोधन गर्दै थापाले अहिलेको चुनाव चुनावका लागि मात्रै नभएकाले जसरी पनि गर्नैपर्ने बाध्यता रहेको बताए । 

अहिलेको चुनाव संविधानको कार्यान्वयनसँग जोडिएकाले स्थगित गर्न नमिल्ने उनले बताए । ‘तत्काल चुनाव नगरे संविधानको भविष्यमाथि नै प्रश्न उठ्छ । यो अन्य समयको जस्तो निर्वाचन होइन, संविधानलाई जिवित राख्ने चुनाव हो,’ उनले भने, ‘चुनाव ढिलो गर्न नमिल्ने बाध्यता छ । तत्काल चुनाव गर्नैपर्छ ।’

मधेसवादी दलहरु पनि सहभागी हुन चाहेमा चुनाव दुई चरणमा गर्न सकिने उनले बताए । ‘चुनाव स्थगित गर्न सकिंदैन तर मधेसी दलहरु सहभागी हुन्छन् भने बाँकी ठाउँमा अर्को चरणमा गर्न सकिन्छ,’ उनले भने, ‘मधेसी दलहरु सहभागी भएमा जेठमा नै अर्को चुनावको घोषणा गर्न सकिन्छ ।’ चुनाव बहिस्कारको निर्णयबाट पछि हट्न उनले मधेशवादी दलहरुलाई आग्रह गरे ।

चुनावबारे अनावश्यक बहस गर्नुको साटो चुनावी तयारीमा जुट्न थापाले सबै कार्यकर्तालाई आह्वान गरे । चुनावको तयारीमा गाउँगाउँ जान उनले सबै कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा राप्रपाका नेता पशुपतीशमशेर राणाले चुनाव अहिलेको आवश्यकता भएको बताए । नेताहरु मनोज प्रधान, कोमल ओली लगाएतले राष्ट्रियतालाई महत्व दिएर निर्वाचनमा जुट्न सबैलाई अनुरोध गरे ।