जुम्ला । सिंजा सभ्यता विकास परिषद्को व्यवस्था गर्न बनेको विधयेकका सम्बन्धमा मंगलवार यहाँ छलफल गरिएको छ ।
कर्णालीको कला, भाषा, साहित्य, संस्कृति, पर्यटन, भूगोल र पुरातत्विक क्षेत्रका विद्वान स्थानीय राजनीतिक दल, पत्रकार र नागरिक समाजको सहभागितामा “सिंजा सभ्यता विकास ऐन, २०७३” विषयक सो विधेयकका सम्बन्धमा छलफल गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको छलफलमा कर्णालीको संस्कृतिका जानकार रमानन्द आचार्यले सिंजा क्षेत्र भाषा, कला र साहित्यको उद्गम थलो भएकाले यसको अन्वेषण, खोज र अनुसन्धानका लागि विधेयकमा व्यवस्था होस् भने ।
सातौं शताब्दीदेखि सिंजाको आफ्नै इतिहास रहेको बताउँदै उनले यसको समुचित संरक्षण, विकास र प्रवद्र्धनका लागि मुख्य कार्यालय सिंजामै राख्नुपर्ने सुझाव दिए ।
व्यवस्थापिका संसद् सदस्य ललितजंङ शाहीले राज्य सञ्चालकको पूर्वाग्रहका कारण कर्णालीपछि परेको हो भन्दै कर्णालीका लागि काठमाडौँ र काठमाडौँका लागि कर्णालीका दुर्गम भएकाले कर्णालीवासीलाई तल पार्न खोजिएकै गुनासो गरे ।
बाह्र वर्षको कम आयुमा मर्नुपर्ने कुनै अपराध कर्णालीवासीले नगरेको भन्दै उहाँले यो विधेयकलाई व्यवस्थित बनाएर लैजानुपर्नेमा जोड दिए ।
सिंजा पाण्डवगुफाका सुदर्शन काफ्लेले १८४६ पछि मात्र मन्त्रालयले ‘सिंजा सभ्यता विकास’ बारे सुझाव लिन लागेकोमा खुसी व्यक्त गर्दै राज्यले कानुन निर्माण गरेपनि त्यसको संरक्षक हामी सबै हुनुपर्ने सुझाव दिए ।
नेकपा एमालेका प्रतिनिधि टेकराज पर्छाइले ऐन बमोजिम गठन हुने संस्थाको कार्यसमितिमा कर्णालीसंग सम्बन्धित व्यक्तिलाई खुला प्रतिस्पर्धाबाट ल्याउने व्यवस्था हुनुपर्ने सुझाव दिए ।
ऐन बनिसकेपछि कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, खप्तड विकास समितिलगायत यो सभ्यता क्षेत्रमापर्ने सबै जिल्लाका समिति खारेज गरेर यसै ऐन बमोजिम सञ्चालन गरिनुपर्ने र कर्णालीलाई अधिकार सम्पन्न स्वशासित बनाउनुपर्नेमा सहभागीहरुले सुझाव दिएका थिए ।
मन्त्रालयका सहसचिव तथा संस्कृति महाशाखाका प्रमुख भरतमणि सुवेदीले विधेयकका मस्यौदामा प्रस्तुत सुझव समेटेर पेस गर्ने बताउनुभयो
नेपालमा एक सय २५ जातजाति र एक सय २३ भाषाभाषी भएकाले हरेकले यथार्थतालाई स्वीकार गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
मस्यौदामा उल्लेख भएअनुसार हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट, दैलेख, सुर्खेत, जाजरकोट, बर्दिया, अछाम, डोटी, बाजुरा र बझाङ जिल्लाको भू–भागलाई सिंजा सभ्याता विकास अन्तर्गत राखिएको बताइएको छ ।