सुर्खेत । बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनमा विप्लव नेतृत्व नेकपा माओवादीका कार्यकर्तालाई सुरक्षा निकायले विशेष निगरानी बढाएको छ । उम्मेदवारको घरमा कालो झण्डा र उम्मेदवारलाई कालोमुसो दल्ने जस्ता गतिविधि गर्ने सूचना पाएपछि प्रहरीले विप्लव माओवादीका कार्यकर्ता माथि विशेष निगरानी बढाएको हो ।
बिहिबार राती विप्लव माओवादीका कार्यकर्ताले वीरेन्द्रनगर नगरपालिकाका मेयर र उप–मेयर पदका उम्मेदवारहरुका घरमा कालो झण्डा गाडेका थिए । सुरक्षा निकायले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्था कडा पारेको छ । ‘हामीले शुरुवाट नै निर्वाचन विथोल्न अग्रसर विप्लव माओवादीका कार्यकतालाई निगरानीमा राखेका छौं’ मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डीआईजी विजयलाल कायस्थले भने,–‘अझै उनीहरुलाई निरुत्साहित पार्न सुरक्षा रणनीति तयार गरेर अगाडी बढेका छौं ।’
प्रदेश ६ का सवै प्रहरी युनिटहरुलाई विप्लवका कार्यकर्तालाई पक्राउ गर्न निर्देशन समेत दिइएको डीआईजी कायस्थले जानकारी दिए । निर्वाचनको लागि प्रदेश ६ का सबै मतदान केन्द्रमा १० जना सुरक्षाकर्मी परिचालन हुने पनि डिआईजी कायस्थको भनाई छ । केन्द्रिय सुरक्षा नीति अनुसार सुरक्षाको लागि सवै तयारी पूरा भएको उनले बताए ।
प्रदेश ६ मा कति सुरक्षाकर्मी परिचालन हुन्छ भन्ने विषयमा जानकारी दिन नमिल्ने बताएका डिआईजी कायस्थले भने,–‘निर्वाचन अवधिभर शान्तिपूर्ण रुपमा सुरक्षा दिन हामीले तयारी पूरा गरिसकेका छौं ।’ एक मतदानस्थलमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, घुमुवा प्रहरीहरु परिचालन हुँदैछन् । निर्वाचनको लागि प्रदेश नम्बर ६ का १० जिल्लामा सुरक्षाकर्मी परिचालन गर्न सवै तयारी पूरा भएको डीआईजीको भनाई छ ।
निर्वाचाको विच घेराको सुरक्षा पाएको सशस्त्र प्रहरीले प्रदेशका सवै जिल्लामा प्रहरी परिचालन गरिसकेको छ । निर्वाचनको सुरक्षाका लागि प्रदेश नम्बर ६ का सात जिल्लामा ७५८ जना सशस्त्र प्रहरी परिचालन गरिएका रक्तकाली गण बाँगेसिमलका एसपी भरत पनेरुले जानकारी दिए । उनका अनुसार जाजरकोटमा १४८, दैलेखमा १४९, सल्यानमा ८१, मुगुमा ८१, जुम्लामा ६०, कालीकोटमा ६० र सुर्खेतमा १७९ जना सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
यता, नेत्र विक्रम चन्द्र विप्लव निकट नेकपा माओवादीका भेरी कर्णाली इन्चार्ज तथा पार्टीका पोलिटव्यूरो सदस्य भरत वम ‘रणविर’ले प्रदेश ६ का नागरिकलाई मतदान नगर्न उर्दी जारी गरेको बताए । ‘निर्वाचन आयोगले नै नो भोटका व्यवस्था गरेको छ’ रणविरले भने,–‘यदि नागरिक मतदानमा सहभागी भएपनि नो भोटमा मतदान गरेर फर्कन अपिल गरिरकेको छौं ।’
स्थानीय तह निर्वाचन नै खारेजीको माग आफूहरुको भएको बताए उनले निर्वाचन असफल पार्न जस्तो सुकै रणनीति अपनाउन आफूहरु तयारी अवस्थामा रहेको उल्लेख गरे । अप्रिय घटना नहोस् भन्ने आफूहरुले चाहेपनि राज्यको दमन बढ्दै गएपछि आफूहरुले पनि कडा रुपमा लागेको रणविरले जानकारी दिए ।