आइतबार भएको मतदानको मतगणना आजदेखि शुरु हुने भएको छ । आईतबार रातीदेखि नै मतगणना शुरु हुने भनिए पनि भौगिलिक विकटताले मतपेटीका संकलन गर्नमा ढिलाई भएकाले सोमबार बिहान ७ बजेबाट मात्र गणना शुरु हुने मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले जानकारी दिए । जिल्लाका ९ स्थानीय तहहरुका अधिकाँश मतदान स्थलका मतपेटिका ल्याउन ढिलाइ भएकाले गणना विहानबाट शुरु हुने सुवेदीको भनाई छ ।
स्थानीय तह निर्वाचनका लागि आइतबार विहानदेखि भएको मतदानमा सुर्खेतमा ७५ प्रतिशत मत खसेको सुवेदीको भनाई छ । सुर्खेतका ९ स्थानीय तहहरुमा औसतमा ७५ प्रतिशत मत खसिसकेको हाम्रो अनुमान हो’ मुख्य निर्वाचन अधिकृत सुवेदीले भने,–‘सवै ठाउँमा फोन सम्पर्क हुन नसक्दा यो प्रतिशत बढ्न पनि सक्छ ।’
यो पटकको निर्वाचनमा नागरिकहरुको उत्साहजनक सहभागिता रहेको जानकारी दिएकी जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अधिकृत सुनिता थापाले कुनै अप्रिय घटना नभएर मतदान सम्पन्न भएकोमा खुसी व्यक्त गरिन् । सुर्खेतमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिए । उनले सवैको सहयोगमा जिल्लाभर शान्तिपूर्ण मतदान सम्पन्न भएको बताए ।
९ स्थानीय तह रहेको सुर्खेतमा १३८ मतदान स्थलमा आइतबार बिहान ७ बजेबाट एकैसाथ मतदान शुरु भएको छ । एक लाख ८४ हजार तीन सय ९९ मतदाता रहेको सुर्खेतमा १७ दलका दुई हजार १० उम्मेदवार चुनावी मैदानमा छन् ।