☰ open Loading... 19 April 2024|  

प्रहरी कार्यालयमा पानीको हाहाकार
  | ११ जेष्ठ २०७४, बिहीबार ०९:१५

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लामा लामो समयदेखि पानीको हाहाकार भएको छ । द्वन्द्वकालमा भत्केको जिल्ला प्रहरी कार्यालय जुम्ला पुनःनिर्माण हुँदाको बेलादेखि खानेपानीको व्यवस्थापन नगरिँदा यो समस्या बढ्दै भएको हो ।

हाल २ सयको सख्यामा प्रहरी जनशक्ति बहाल रहेको र बेलाबेलामा बढ्दै जाने गरेको तर खानेपानीको समस्या हुने गरेको प्रहरी निरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

‘यो समस्या समाधानका लागि हामीले जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालयमा पनि अनुरोध गर्यौं, तर पनि प्रहरीमा खानेपानीको व्यवस्था हुन सकेको छैन,’ रिजालले भने ।

प्रहरी निरीक्षक कलेन्द्र शाहीले धारामा पानी अनियमित हुँदा दुई किलोमिटर टाढा कर्णाली प्राविधिक शिक्षालय नजिक गाडी लिएर दैनिक पानी ल्याउने गरेको बताए । ‘पानीका लागि खानेपानी कार्यालयबाट एक क्वाइल पाइप उपलब्ध भयो तर पाइप जोडेर प्रहरी कार्यालयभित्र ल्याउन सकिने अवस्था हुन भएन्’ उनले भने । शाहीका अनुसार कार्यालयमा कार्यरत सवै प्रहरी कर्मचारीलाई लुगा धुन र सरसफाइका लागि तिला नदीमा जान बाध्य छन् ।