☰ open Loading... 19 April 2024|  

३१ वर्षपछि सिंचाई कुलो सञ्चालनमा
  | १३ जेष्ठ २०७४, शनिबार ०७:२६

दैलेख ।  ३१ वर्षपछि सिचाई कुलो चलेको छ । निर्माण थालिएको ३१ वर्षपछि ५ किलोमिटर लम्वाईसम्म सिचाई कुलोमा पानी चलेको हो । पानी चल्दा सैनगाँउका किसानहरु हर्षित भएका छन् । १४.२ किलोमिटर बहुचर्चित गिताचौर– रावतकोट सिचाई आयोजना ३१ वर्षपछि ५ किलोमिटरसम्म सिचाई चलेपछि किसानहरु हर्षित भएका हुन् । विगतमा निर्माणमा समस्या देखीदा १ किलोमिटर पनि पानी चढ्न सकेको थिएन् । दुई वर्षको प्रयासपछि यो वर्ष पानी झरेको हो ।

सैनगाँउमा ५ किलोमिटरसम्म सिचाई बनेर झरेको पानी ।

 उपभोक्ता समितिका अनुसार दुई पटक स्टोमेन्ट परिवर्तन गरिएको थियो ।  मुहानबाटै पानी नचढ्ेपछि दुई पटक डिजाईन गरेर मुहान २ सय मिटरजति माथि सारेपछि अहिले पानी झरेको हो । दुई वर्षयता जिल्लामै सिचाई डिभिजन कार्यालय स्थापना भएपछि आयोजनाले गति लिएको स्थानीयहरु बताउँछन् । क्षेत्रफलको हिसाबले पश्चिमी पहाडी भेककै ठुलो सिंचाई आयोजना हो । ३१ वर्षदेखी विभिन्न समस्या झेल्दै, बजेट फ्रिज जाँदै र ठेकेदारको ढिलासुस्तीले आयोजनाको काम कछुवाको गतिमा रहेको थियो ।

सरकारले  सिचाई डिभिज कार्यालय मार्फत कम बजेट पठाउने, उपभोक्ता समितिले श्रमदान नगर्ने, र ठेकेदारले काम नसक्ने कारणले विगतमा यो योजना लथालिङ्ग अवस्थामा पुगेको स्थानीयको आरोप छ । विगतमा निर्माण कम्पनी स्वच्छन्द÷प्रदीप जेवी सुर्खेतले काम गर्दागदै भागेपछि दैलेखको महत्वकांक्षी सिचाई योजना अलपत्र परेको हो ।

६ करोड ३१ लाख लागतमा बनाईन लागेको सिचाई योजनामा अहिलेसम्म ४ करोड ८२ लाख पैसा खर्च भईसकेको सिचाई डिभिजन कार्यालय दैलेखका कार्यबहाक डिभिजन प्रमुख तारा वाक्लेले बताए । ‘उपभोत्ता समिति र कार्यालयको समन्वयबाटै राम्रो प्रगति देखीएको हो ।’ डिभिजन प्रमुख वाक्लले भने, ‘यहाँका सेवाग्राहीहरुको सपना छिट्दै पुरा हुनेछ ।’

डिभिजन कार्यालय दैलेखमै आएपछि कामको रफतार बढेको सिचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष तिलक रिजालले बताए । ‘निस्वार्थ रुपमा सेवा भावले आयोजना जसरीले सम्पन्न गर्नका लागि लागेका छौ ।’ अध्यक्ष रिजालले भने, ‘सवैको सहयोग र समन्वय नै सिचाईका लागि प्रगती भएको हो ।’

दैलेखका रावतकोट, वडलम्जी, भैरीकालिकाथुम, बाँसी र रानीवन गाविसका कृषकहरुका २ सय ३५ हेक्टर खेतीयोग्य जमिनलाई सिंचाई सुविधा पु¥याउने उद्देश्यले २०४२ सालदेखि यसको निर्माण थालिएको हो । २०२२ सालबाट सुरु गरि १८ वर्ष लामो विस्तृत सर्वेक्षण पश्चात आयोजनाको निर्माण कार्य २०४३ सालबाट सुरु गरिएको थियो ।

नहर सडकले भत्कायो   
दुल्लु नगरपालिकाले सैनगाँउ हुँदै बाँसीतिर सडक लैजान सडक खन्न गिताचौर रावतकोट सिचाई आयोजनाको नहर नै भत्काएको छ । गत वर्ष नहर भत्काउँदा काम प्रभावित भएको हो । ६५ मिटर नहर डोजर लगाएर सडक खन्न भत्काएको सिचाई डिभिजन कार्यालयले जनाएको छ । सैनगाँउको छेउमै नहर भत्किएपछि अगाडी पानी झान्न समस्या भएको आयोजनाले जनाएको हो । १० लाखको नहर क्षति भएको जनाईएको छ । पटकपटक ममर्त गर्न नगरपालिकालाई पत्राचार गर्दा समेत सुनुवाई नभएपछि यो वर्ष सिचाई डिभिजनले काम गर्ने तयारी गरेको डिभिजन प्रमुख तारा वाक्लले बताए ।

‘भत्किएको नहर बनाएपछि १ महिनाभित्रै थप ४ किलोभिटर सहित ९ किलोमिटर लम्वाई पानी चल्नेछ ।’ डिभिजन प्रमुख वाक्लले भने, ‘आगामी वर्ष नै यहि रफ्तारमा काम भए, ३१ वर्ष पुरानो योजना सम्पन्न हुनेछ ।’