जब जब म कोर्षभन्दा बाहिरका पुस्तकहरु पढ्न बस्छु तब मन अत्यन्तै चञ्चल हुन्छ । पुस्तकको पहिलो पाना पढ्न सुरु गरेपछि यसको अन्त्य कस्तो होला भन्ने उत्सुकताले चिमोटिरहन्छ । किताब पढ्न सुरु गर्नु भन्दा पहिला म सधैं अन्त्यमा के होला भन्ने उत्सुकतामा हुन्छु । प्राय : म आफ्नो चञ्चल मनलाई रोकिराख्न सक्दिनँ । मनलाई स्थीर गर्ने प्रयास गर्दै, सुरुका पानाबाट नै किताब पल्टाउछु, तर किताब पढेर बिच तिर आईपुग्दा मनको कौतुहलताले उग्र रुप लिएपछि किताबको अन्तिम पातो फर्काएर हेर्छु । अनि थाहा हुन्छ, किताबको अन्त्यमा के रैछ । फेरी पाना फर्काएर अघितिरै आएर, सरसर्ती बाँकी रहेका पाना पुरा गर्न थाल्छु । आजसम्मको मेरो अध्ययन अनुभवमा कुनै पनि किताब पढ्न सुरु गरिसकेपछि सुरुदेखि अन्त्यसम्म क्रमसँगै पाना पल्टाउँदै पढेर सकेको कुनै एउटा पनि उदाहरण छैन । यो मेरो अध्ययनको आफ्नो तरिका हो ।
अध्ययन मेरो रुचि हो । त्यही रुचिले डोर्याउँदै मलाई केही थान किताहरुसँग सात्क्षात्कार गराएको छ । आफ्नो जीवनको यो विन्दुसम्म आइपुग्दा कोर्षबाहिरका पनि केही थान पुस्तकहरु पढियो । ति किताबहरु फरकफरक लेखकबाट सिर्जित थिए । जीवनमा अध्ययन गरेका किताबहरुलाई बुझ्ने प्रत्यन्त गरियो तर सबैमा सफल हुन सकिएन । यद्यपी जति बुझ्न सकेँ त्यो पनि उपलब्धि हो र थप बुझ्ने पर्यत्नमा सधैं हुन्छ ।
किताब पढ्न भनेर पल्टाएदेखि नै किताबको एउटा पात्रलाई आफु बनेर हेर्छु । कतिपय किताबका केही अंश यस्ता हुन्छन्, त्यो किताबको एक अंशले नै किताबका सबै पाना पढेसरह बनाईदिन्छ ।
पछिल्लो पटक मैले अक्षर काकाको उपन्यास ‘देउती’ पढेँ । देउती पढिसके पछि भन्न मन लाग्यो, ‘जीवनमा हर बन्धन र हर दुःख महिलाले मात्रै भोग्नुपर्ने भए यो संसारमा पुरुषलाई किन जन्माईएको होला ?’ यसो भनेर मैले प्रश्न गरिरहँदा अधिकांशको तर्क होला, ‘महिला एक्लैले सृष्टि चलाएर देखाउन् न त ?’
आठ वर्षको कलिलो उमेरमा, विवाह भन्ने शब्दको अर्थ बुझ्न नसकेकि एउटी केटि, उस्ले नाई भन्दा भन्दै २२ वर्षको एक अपरिचित युवक सँग बिहे गर्न तयार हुनुपर्ने ? यो कस्तो समाज ?
अहो कस्तो बिडम्बना ! सन्तानको रुपमा जन्मिदा छोरी भएर जन्मनु के, अभिशाप हो ? आफ्नो ईच्छा विपरीत पनि बाबुआमाले जे भन्छन्, त्यहि कुरा मान्दै जानु, बाबुआमाको आज्ञाकारी सन्तान बन्नु छोरी भएर यस धर्तिमा जन्मिनुको सजाय हो ?
अह, त्यस्तो पक्कै होईन् । जीवनमा धेरै उतारचढापहरु आउछन्, ति सबै बिडम्बनालाई सामना गर्न पुरुषको साथ चाहिन्छ महिलालाई । महिला आफैँमा पनि सक्षम छन्, तर यो समाजले तयार गरेका बन्धनमा बेरीएर बस्नुपर्ने बाध्यताले गर्दा, आज अहिले पनि देउतीको चरित्र र उनको वास्तविकतामा कयौँ नारीहरु रुमलिरहेका छन् ।
म त भन्छु, समाजको ऐना हो देउती । समाजको मात्रै होईन्, समाजका कुनाकन्दरामा रहेका सामाजिक यथार्थलाई देखाईदिने एउटा खुला आकारको ऐना हो, देउती ।
सानो छँदा, हजुरआमाहरुको कथामा आएका वास्तविक नारीहरु आज देउती बनेर आए । देउतीका कतिपय घटनाहरु समाजमा अझै पनि देख्न पाईन्छ, तर अधिकांश घटनाहरु अहिलेको समाजमा भेटिदैनन् ।
समाजका वास्तविकताभित्र रहेर तयार गरिएको देउती उपन्यासकी प्रमुख पात्र देउती समाजले भिराएका हरेक बन्धनको सामना गरिरहेकि छे । हुन त, समाज अहिले २१ औँ शताब्दिमा छ । देउतीसँग अहिलेको समाजको तुलना गर्दा, परिवर्तनका विषयहरु थुप्रै भेटिएलान् । तर २१ औँ शताब्दिमा भएर पनि महिलामाथि, कमजोर शब्द जोडेर समाज परिवर्तनको बाधकका रुपमा उभ्याउन मिल्दैन ।
समाज अहिले परिवर्तन भएको छ, उपन्यासमा उल्लेख भए जति अन्धविश्वास कायम छैन हाम्रो समाजमा । लेखकले अन्धविश्वासले नै देउती उपन्यासलाई भरिदिएका छन् । उपन्यासमा आम नेपाली समाजको महिलाको कथा छ, तर लगभग एक शताब्दी अगाडिको नेपाली समाजको कथा छ ।
बालविवाहको डरलाग्दो अवस्था, स्वाथ्य चौकिको अभाव, समस्या नै समस्याले बेरीएको अहिलेको भन्दा एकदमै फरक एउटा समाज । अभाव बिचको एउटा समाज । त्यहि समाजकी एउटी पात्र देउती । कतिबेला रोगब्याधी आउँछ र गाउँ नै शुन्य पार्छ भन्ने तलतल अनि डर ।
धर्म र संस्कारका नाममा महिलामाथि समाजले लगाउने अनेकौ आरोप, अन्याय र लाञ्छना । आकाश–पाताल फरक लाग्ने, महिला र पुरुषबीच असमानताका खाडल । भरीन लागेको यौवन अवस्थामै श्रीमान टाढिनुको पिडा, अहो, कस्तो बिडम्बना !
हामिलाई किताब पढ्दा मात्रै पनि यस्तो असजिलो लाग्ने, अहो साच्चिकै त्यो भोग्नेलाई कस्तो भयो होला ?
बाआमाको पहिलो सन्तानको रुपमा जन्म लिएकी, देउती । ८ वर्षकै कलिलो उमेरमा भुकम्पले तहसनहस पारेको घरको आगनबाट आमाबाको ईच्छामा बनाईएकोे बिवाहको डोलीमा चढीन्, देउती ।
बिवाहको अर्थ थाहा नपाएकि देउती, एउटा अपरिचित घरमा प्रवेश गर्छे ।
मेरो कल्पनाभन्दा बाहिरको एउटा कुरा, जन्म दिने आमाले भन्दा बढि माया गर्ने सासु देउतीले पाई । यो समाजको भन्दा उपन्यासको फरक प्रसंग हो । घरको काममा जोतिएकि एउटी थकित बुहारी देउती सासुको मायाले, कामको सबै दुख बिर्सन तयार हुन्छे ।
बैस र बिहेको अर्थ बुझ्न लागेकि देउतीलाई, जीवनमा अर्को फन्दा आइपर्छ ।
देउतीको श्रीमान मृत बाबुको अस्तु सेलाउन हिडेका बेला बेपत्ता भएपछि देउती पति वियोगमा पर्छे । देउतीलाई जे कुराको डर थियो आखीर त्यही भईदियो ।
देउतीको लोग्नेको वियोगमा पिल्सिने दिन सुरु भए सँगै उनीहरुको घरमा सुख, शान्ति र आनन्द भन्ने चिज कहिल्यै प्राप्त भएनन् । बाको अस्तु सेलाउन गएको आफ्नो पति दुई दशकसम्म पत्ता नलाग्दा देउतीको छटपटाहटले ठूलो रुप लिन्छ ।
उता श्रीमानको वियोग, खबरखाबर नआउनु यसै बिचमा छोराको पीरमा परी सासूको मृत्यु हुनु देउतीको जीवनको अर्को बज्रपात हो । पतिवियोग र आमा समान माया दिने र हेरचाह गर्ने सासूको मृत्युपछि यो संसारमा देउतीको कोहि र केहि पनि रहेन ।
लामो समयसम्म पनि नफर्किएको देउतीको लोग्नेलाई, समाजले मृत घोषणा गरिदियो । देउतीको मनोभावना र पति प्रतिको सम्मानलाई समाजको एउटा हुलले कुशमा परिणत गरिदियो । देउती निरीह थिई, एक्ली भई । बोली दिने कोहि रहेनन् । समाजको हरेक वचनलाई पच्छ्याउँदै नहिडि देउतीले सुखै पाईन् । फेरी पनि एकपटक देउतीले, समाजको भावना आफ्नो भावना सम्झेर बाच्नु पर्ने भयो । सासुको मृत्यु पछि त देउतीको बेहाल र पिडाको जिन्दगी सुरु भयो ।
परिवारका नाममा रहेका जेठाजु र जेठानीले पनि हेला सुरु गरेपछी गाउँलेले माया देलान भन्ने आशा नै रहेन । जिन्दगी देखि अताल्लीएकि देउती इन्द्रायणी नदीमा हाम फालेर प्राण त्याग्ने योजनामा हुन्छे । तर त्यो पुरा हुन सकेन । केही समयपछि आफ्नो लोग्ने जीवितै भएको खबर देउती समक्ष आईपुग्छ ।
यस्ता विभिन्न वेदनाबाट पिडित देउती अन्तत श्रीमानको लाससँग गुनासो पोख्छे । छोटा तर अर्थले भरिएका वाक्यले भरिएको उपन्यासमा प्रयोग गरीएको भाषाले पाठकको ध्यान तान्ने महत्वपूर्ण भुमिका खेलेको छ । अहिले २१ औं शताब्दीमा पनि सकारात्मक रुपमा नलिईएको सासू–बुहारीको सम्बन्धलाई लेखकले आदर्श सम्बन्धको रुपमा स्थापित गर्ने प्रयास गरेका छन् जुन उपन्यासको सकारात्मक र सन्देशमूलक पक्ष हो ।
त्यसैले देउती समाजको मात्रै होईन, पर्दाभित्रको समाजको साचो कथा पनि हो ।
(लेखक नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका कार्यसमिति सदस्य हुन् ।)