☰ open Loading... 17 November 2024|  

मल्टिच्याम्बर शित भण्डारको शिलान्यास
  | १२ असार २०७४, सोमबार १०:०७

सुर्खेत । वीरेन्द्रनगर–१२ स्थित औद्योगीक क्षेत्रमा प्रदेशस्तरीय मल्टिच्याम्बर शित भण्डारको शिलान्यास गरिएको छ । उच्च मुल्य कृषि बस्तु विकास आयोजनाको अनुदान सहयोगमा र कर्णाली कोल्ड चैन लजिष्टिक प्रालीको सहलगानीमा निर्माण हुन लागेको मल्टिच्याम्बबर शित भण्डारको सोमबार शिलान्यास गरिएको हो ।

सुर्खेतसहित प्रदेश नम्बर–६ का किसानहरुले उत्पादन गरेका कृषि बस्तुहरुसँगै र फलफूललाई भण्डारण गर्ने उद्देश्यले १२ करोड लागतमा शितभण्डारको शिलान्यास वीरेन्द्रनगरका प्रमुख देवकुमार सुवेदी र उच्च मुल्य कृषि विकास आयोजनाका प्रमुख राजेन्द्र भारीले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

मल्टिच्याम्बर शित भण्डारमा आयोजनाको ५ करोड र अन्य लगानीकर्ताका ७ करोड लागत रकम छ । शीत भण्डार गृह निर्माण भएपछि प्रदेशमा उत्पादन हुने मौसमी कृषि उपजहरुलाई भण्डारण गरी बेमौसमी सिजनमा बिक्री गर्न सहयोग पुग्ने अपेक्षा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीको छ ।

जिल्लामा आवश्यकतालाई महशुस गरी किसान र उपभोक्ताहरुको लागि शित भण्डार निर्माण गर्न लागिएको कर्णाली कोल्ड चैन लजिष्टिक प्रालीका सञ्चालक समेत रहेका संघका अध्यक्ष अधिकारीले ८ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको शीत भण्डार निर्माण भएपछि स्याउ, आलु, अदुवा, केरा र अन्य फलफुलहरुलाई राखिने बताए ।

 

प्रदेशका उत्पादक र उपभोक्तालाई ध्यानमा राखि भण्डार गृह निर्माण गर्न संघले लामो समयदेखि कसरत गरेको थियो । किसानहरुले उत्पादन गरेका बस्तुलाई शीत भण्डार निर्माण भएपछि उत्पादन भएका बस्तुहरु समस्याको समाधान हुने अध्यक्ष अधिकारीको भनाई छ ।

६ नम्बर प्रदेशको मुख्य बजार केन्द्रका रुपमा रहेको वीरेन्द्रनगरमा शीत भण्डार निर्माण भएपछि तरकारी र फलफूलको खेती गर्ने व्यावसायिक कृषकले आफ्ना कृषिउपजको भण्डारनमा सहजता हुनेछ ।

भण्डार गृहको ठूलो समस्या भोगिरहेका यस क्षेत्रका किसानहरुले भण्डार गृह निर्माण भएपछि फलफूल र तरकारीको व्यावसायीकरणले फड्को मार्ने अपेक्षा गरेका छन् । यसअघि स्थानीय कृषकले कोहलपुरमा रहेको शीत भण्डार गृहमा पु¥याउनुपर्ने समस्या थियो ।