☰ open Loading... 17 November 2024|  

सुर्खेतका गाउँ र नगर कार्यपालिकामा कुन दलले जिते ?
  | २० जेष्ठ २०७४, शनिबार २०:०७

सुर्खेत : सुर्खेतका ९ वटै स्थानीय तहहरुले गाउँ तथा कार्यपालिका गठन गरिएको छ । गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचितहरुले गाउँ र नगरकार्यपालिकालाई पूर्णता दिन शनिबार निर्वाचन भएको थियो । गुर्भाकोट नगरपालिका बाहेक अन्य नगर र गाउँपालिकामा नयाँ सदस्य छनौट लागि निर्वाचन भएको हो ।

गुर्भाकोटमा भने नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध सदस्यहरु चयन भएका थिए । चिंगाड गाउँकार्यपालिकाको लागि ६ सदस्यको निर्वाचन जेठ १७ गते नै भएको थियो ।  चिंगाडमा ६ सदस्यमा नेपाली कांग्रेसले नै जितेको छ । सदस्यहरुमा नेपाली कांग्रेसका लालविर सार्की, कुले कामी, तिलमाया सुनार, ललित शर्मा जैशी, तुलसी शाही र पार्वती चुनारा निर्वाचित भएका थिए ।

प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको वीरेन्द्रनगर नगरकार्यपालिकामा भने भारी बहूमतले नेकपा एमालेका उम्मेदवाहरु विजयी भएका छन् । नगर उपप्रमुखसहित ९ वटा वडामा जीत हात पारेको एमालेले नगरकार्यपालिकाको ८ जना सदस्य पनि एकलौटी आफ्नो पक्षमा पारेको छ । शनिवार भएको नगरकार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त युक्त प्यानललाइ पराजित गर्दै आठै जना सदस्यमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । महिला सदस्यमा समान ५२ मत प्राप्त गरेर शान्ता खड्का, टिकाकुमारी गुरुङ घले, सरिता चौधरी, लक्ष्मीकुमारी विक र यमुना नेपाली निर्वाचित भए । दलित तथा लोपोन्मुखतर्फबाट पनि एमालेका उम्मेदवारहरु विजयी भएका छन् । एमालेका राजु नेपालीले ५० मत प्राप्त गरिन् भने डण्डबहादुर विक र विष्णुबहादुर वादीले ५२ र ५२ मत प्राप्त गरि नगरकार्यपालिकाको सदस्यमा निर्वाचित भएका छन् । २६ सदस्यीय नगरकार्यपालिकामा एमालेको उपप्रमुखसहित १८ जना, कांग्रेसको प्रमुखसहित ७ जना र माओवादी केन्द्रको १ जना सदस्य छन् ।

लेकबेसी नगरपालिकाको नगरकार्यपालिका पनि नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका संयुक्त प्यानल निर्वाचित भएको छ । निर्वाचित हुनेहरुमा झगीसरा सुनार, तुलिसरा राना, दुर्गा वाह्रघरे, धनसरा सुनार र लक्ष्मिदेवी रेश्मी रहेका छन । उनीहरुले समान ३३ मत प्राप्त गरेका थिए । दलित तथा अल्पसंख्यक सदस्यमा भने ईन्द्र्र वहादुर बिश्वकर्माले ३४ मत, रत्न वहादुर सुनारले ३३ र हिरालाल नेपालीले ३२ मत ल्याई निर्वाचित भएका छन् ।

भेरीगंगा नगरकार्यपालिकामा भने नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुख र उपप्रमुख जितेको नेपाली कांग्रेसले नगरकार्यपालिकाको ८ जना सदस्य पनि एकलौटी आफ्नो पक्षमा पारेको छ । सदस्यमा खिमकुमारी कामी, भुमिकला सुनार, मोतिकला खत्री, रमना दमाई, विष्णु खत्री, खिलबहादुर कामी, प्रतिमा विक र शेरबहादुर विक निर्वाचित भएका छन् ।

गुर्भाकोट नगरकार्यपालिकाको ८ जना सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसबाहेक अन्य दलबाट उम्मेदवार दर्ता नभएपछि कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरेको थियो । यो कार्यपालिकाको लागि सुशीला कार्की, सरस्वती नेपाली, मनिसरा थापा, तस्बिर घर्ती, गंगा श्रेष्ठ, दिलबहादुर सार्की, खुमबहादुर विक र उवीकला सार्की निर्वाचित भएका छन् ।

बराहताल गाउँकार्यपालिकामा भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । ६ सदस्यी गाउँपालिकामा नेपाली कांग्रेसले तीन र नेकपा माओवादी केन्द्रले ३ सदस्य जितेको छ । नेपाली कांग्रेसका चित्रा विश्वकर्मा, डिला राजी, भावना बस्नेत तथा नेकपा माओवादी केन्द्रका रोशनी सुनार, कमला सुनार र शेरबहादुर सुनार निर्वाचित भएका छन् ।

सिम्ता गाउँकार्यपालिकामा नेकपा एमालेका उम्ेमदवार विजयी भएका छन् । ६ सदस्यहरुमा एमालेका देव नारायाण विक, सुनिल बादी, दिपाचन्द मल्ल, तुल्सी सिंह खत्री, शोभा परियार र राधिका विक छन् ।

चौकुने गाउँकार्यपालिमा एमालेले बहुमत प्राप्त गरेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा विजय हासिल गरेको एमालेले गाउँकार्यपालिकाको शनिवार सम्पन्न सदस्यहरुको निर्वाचनमा पनि ५ जना सदस्य जितेको छ । एमालेका मन्धरा सावद, रामकली दर्लामी, कमला विक, हरिकला विसी, नैनसिंह राजी र चमारे दमाई विजयी भएका छन् । यो सँगै चौकुनेको १८ सदस्यी गाउँकार्यपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्षसहित १४ जना तथा कांग्रेस र माओवादी केन्द्रका २ र २ जना सदस्य रहने छन् ।

पञ्चपुरी नगरकार्यपालिकामा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यो नगरकार्यपालिकाको ८ सदस्यमा नेपाली काँग्रेसका रुक्मी देवकोटा, तुल्सी लामिछाने, खगिसरा कंडेल, चन्दा आले, गणेश शाही, गोरख कामी, भगे कामी र समुन्द्र राजी निर्वाचित भएका छन् ।