रानीघाट (सुर्खेत) : वीरेन्द्रनगर २ मा पर्ने रानीघाटलाई देवघाटको रुपमा विकास गरिने भएको छ । पहिलो आर्याघटको रुपमा परिचित रानीघाटमा आवश्यक भौतिक पूर्वाधार थप्ने र भएका संरचनालाई पुनर्निमाण गरेर देवघाटको रुपमा विकास गरिन लागेको हो ।
रत्नराजमार्ग निर्माण नहुनु अगावै वीरेन्द्रनगरमा बस्ने कुनै व्यक्तिको मृत्यु भएमा अन्तिम संस्कार गर्न रानिघाट लगिने गरिएको थियो । राजमार्ग निर्माणसंगै भेरी (समौदीघाट) मा अन्तिम संस्कार गर्न लिन थालेपछि रानीघाट ओझेलमा परेको स्थानीय नागरिक बताउँछन् ।
तर रानिघाट पृतिमोक्ष वैदिक अनुष्ठान सञ्चालनबाट संकलित रकम त्यहीको विकास लागि खर्च गरेर देवघाटको रुपमा विकास गरिन लागिएको छ । यही जेठ १२ गतेबाट रानीघाटमा पृतिमोक्ष अनुष्ठान सञ्चालनरत छ । रानीघाट ओझेलमा परेपछि यसको संरक्षण र संवद्धन गर्न अनुष्ठान सञ्चालन गरेको मुल आयोजक समितिका संयोजक हस्तराज भारती बताउँछन् ।
‘हामी रानीघाटनको विकास गर्न चाहान्छौं’ संयोजक भारती भन्छन्,–‘अनुष्ठानबाट संकलन भएको रकम यहीको विकासको लागि खर्च गरेर देवघाटको रुपमा विकास गर्न यो अभियान थालेका हौं ।’ जिल्लाकै पुरानो र प्रतिष्ठित ठाउँ रानीघाट ओझेलमा पर्दा यसको प्रचार–प्रसारको लागि आफूहरु जुटेको उनले बताए ।
‘अनुष्ठानमा सोचे जस्तो व्यक्तिको सहभागिता हुँदैन होला भन्ने लागेको थियो’ संयोजक भारतीले थपे,–‘सानो कार्यक्रममा थप्रै नागरिकको सहभागीताले काम गर्ने हौसला जगाएको छ ।’ ०७१ साउन मा भेरी नदी आएको बाढीले त्यहाँ अवस्थित शिव मन्दिरलाई ढाक्दा समेत कुनै क्षति भएन् । स्थानीयहरुले दैवी शक्तीले शीव मन्दिर बगाउन नसकेको बताउँदै आएका छन् ।
भेरी किनारामा अवस्थित शिव मन्दिरलाई पुनर्निमाण, व्यवस्थित गौशाला निर्माण, तारवार र आर्यघाटलाई व्यवस्थित गरेर नमुना देवघाटको रुपमा विकास योजनामा आयोजक जुटेको छ ।
बिहिबार मात्रै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी र उप–प्रमुख मोहनमाया भण्डारी (ढकाल)ले रानीघाटको विकासको लागि ५ लाख बजेट विनियोजन गर्ने प्रतिवद्धता अनुष्ठनमा जनाएका थिए ।
रानीघाटलाई आर्यघाटको रुपमा मात्र विकास गर्ने नभई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उदेश्यले आफूहरु जुटेको संयोजक भारती बताउँछन् । ६ दिनको अवधिमा मात्रै करिव पाँच हजार बढी नागरिकहरु वैदिक अनुष्ठानमा सहभागी भएको आयोजकले जनायो । यो अवधिमा झण्डै ६ लाख दान रकम संकलन भएको छ ।
झुण्डिएर आत्महत्या गरेका, अकालमै ज्यान गुमाएका आत्माहरुको पृति उद्धार गर्ने उदेश्यले आयोजना गरिएको अनुष्ठान दैनिक सालिग्राम पूजा, यज्ञ हमन, आरती र कथा वाचन भइरहेको छ । सद्गुरुदेव सन्तशिरोमणि आचार्य र संकल्पकर्ता सुनिल पौडेल लगायतले कथा वाचन गरिरहेका छन् । हालसम्म एक हजार पाँच सय कलश बिक्री भएको आयोजकले जनाएको छ । पृतिमोक्ष अनुष्ठान सोमबार) सम्म सञ्चालन हुनेछ ।