बर्दिया : जेठो छोरा कृष्ण र कान्छो टंकप्रसाद फरक–फरक पार्टीबाट उम्मेदवार बनेपछि ८७ वर्षीया आमा सन्तु अधिकारी अन्योलमा छिन् । दुवै छोराका बीचमा प्रतिस्पर्धा छ । त्यसैले उनलाई कसलाई मतदान गर्ने भन्ने चिन्ताले पिरोलेको छ । उसो त दुई दाजुभाइ बेग्लाबेग्लै दलबाट प्रचारप्रसारमा जुटेपछि यहाँको चुनावी माहोल रोचक बनेको छ । बर्दिया, गुलरिया नगरपालिका–२ को वडाध्यक्षमा कांग्रेसबाट कृष्ण अधिकारी र एमालेका तर्फबाट उनका कान्छा भाइ टंकप्रसाद चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । दुवै जनाले प्रचारलाई तीव्रता दिएपछि यहाँको नतिजा स्थानीयस्तरमा निकै प्रतीक्षित बनेको छ ।
‘दुईमध्ये एकले जित्छ, एकले हार्छ । जित्ने छोरा त खुसी होला । भोलि हार्नेले जित्नेलाई काममा सहयोग गर्ने हो कि होइन रु’ आमा सन्तुले भनिन्, ‘अहिलेसम्म तटस्थ बसेकी छु । सायद भोट हाल्न पनि जान्न होला ।’ २०१५ देखि मतदान गर्दै आएकी उनले यसपालिको जस्तो धर्मसंकट कहिल्यै नभएको बताइन् ।
उनी जेठो छोरा कृष्णको घरमा बस्दै आएकी छन् । दुवै भाइलाई मिलेर जान पटक–पटक आग्रह गरेको बताइन् । एकले अर्कालाई सहयोग गर्न पटक–पटक आग्रह गरे पनि नमानेको उनको गुनासो छ । वडाध्यक्षका उम्मेदवार बनेका दुवै छोराले आमा र अन्य आफन्तलाई भने कुनै दबाब नदिएको बताएका छन् ।
२०२८ मा कास्कीबाट बर्दिया बसाइँ सरेका अधिकारी परिवारका नजिकका आफन्त पनि कसलाई मतदान गर्ने भन्ने अन्योलमा छन् । उम्मेदवार बनेका दाजुभाइ ०४५ देखि अंशबन्डा गरेर छुट्टाछुट्टै बस्दै आएका छन् । टंकको पण्डितपुरमा र कृष्णको खैरापुरमा घर छ । ०४६ देखि उनीहरू दुवै जना दुई फरक दलमा आबद्ध भएका थिए ।
दुवैले राजनीतिक रूपमा फरक–फरक पार्टीमा आबद्धता जनाए पनि दाजुभाइबीच कुनै मनमुटाव छैन । कृष्ण कांग्रेसका सक्रिय सदस्य र टंक एमाले गुलरिया नगर कमिटीको सचिवालय सदस्यसमेत हुन् ।
‘म २०४६ देखि नै सक्रिय रूपमा राजनीतिमा लाग्दै आएको छु । भाइ पनि राजनीतिमै छ । पार्टीले उम्मेदवार सिफारिस गरे,’ कृष्णले भने, ‘लोकतन्त्रमा हारजित स्वाभाविक हो । जिते पनि हारे पनि आपसमा सहयोगरसद्भाव रहिरहन्छ ।’ उनका भाइ टंकले पनि दाजुभाइ चुनावी प्रचारमा लागेको र जितरहारलाई सहज रूपमा लिने बताए ।
ekantipur