जुम्ला । यहाँका सरोकारवाला निकायले जिल्लामा संचालित होटेलहरुमा बालबालिकाले ल्याएको खाजा नास्ता बहिस्कार गर्ने निर्णय गरेका छन् । कुनै पनि निकायद्धारा होटेलहरुमा हुने कार्यक्रमका अवसरमा बालबालिकाले ल्याएको खाजा नास्ता नखाने निर्णय उनीहरूले गरेका हुन् ।
बालश्रम विरुद्धको विश्व दिवसका अवसरमा महिला तथा बालबालिकाको कार्यालयमा बसेको बैठकबाट यस्तो निर्णय गरीएको छ । जिल्ला बाल कल्याण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको अध्यक्षमा बसेको बैठकले बाल श्रमिकरहित होटल लेखेको साइनबोर्ड टास्ने जुम्लाका होटलहरुलाइ प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ ।
स्थानिय निकाय र जिल्ला बाल कल्याण समितिको समन्वयमा जुम्लाका होटल, ग्यारेज र यातायातमा संयुक्त अनुगमन गर्ने र अनुगमन पछि बाल श्रमिक रहेको पाइएमा कानुन बमोजिम कारबाहि गर्ने निर्णय पारीत भएको महिला तथा बालबालिका कार्यालय जुम्लाका सुचना अधिकृत बिन्दु कँवरले बताईन ।
जिल्लाका जुनसुकै निकायमा बाल बालिकालाइ श्रममा लगाइएको पाइएमा तत्काल प्रहरी, प्रशासन, महिला तथा बालबालिकाको कार्यालय, संचार माध्ययम तथा अन्य सम्बन्धीत सरोकारवाला निकायलाइ जानकारी दिएर उद्धार कार्यमा सहयोग पुर्याउन अपिल गरीएको छ । देशभर बालश्रम विरुद्धको दिवस मनाइए पनि जुम्लामा भने हालसम्म के कति बालबालिकाले कुन कुन ठाँउमा बाल श्रमीकका रुपमा काम गरी रहेका छन् भन्ने यकिन तथ्यांक छैन ।