सुर्खेत । सेवाग्राहीसंग घुस लिँदै गर्दा मालपोत कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख गणेश आचार्य पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयको टोलीले बिहिबार दिउसो आचार्यको कार्यकक्षबाट रंगेहात पक्राउ गरेको हो ।
सेवाग्राहीबाट नगद ३० हजार रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयका निमित्त कार्यालय प्रमुख जंगबहादुर डाँगीले जानकारी दिए । मालपोत कार्यालयका सूचना अधिकारीसमेत रहेका आचार्यले बिहीबार घरजग्गा कारोबार अन्तर्गत जग्गा रोक्का र पास गर्ने काम गरिदिए बापत सेवाग्राहीसँग घुस मागेका थिए ।
सेवाग्राहीले घुस मागेको सूचना दिएपछि अख्तियारले छापा मारेको हो । रंगेहात पक्राउ परेका आचार्यमाथि अनुसन्धान भइरहेको र आफूहरुले थप प्रमाण संकलन गरिरहेको जानकारी दिएका अख्तियार प्रमुख डाँगीले प्रमाण संकलन र कागजपत्र पूरा भएपछि आचार्यविरुद्ध मुद्दा दायर गर्ने बताए ।