जुम्लाका व्यापारीहरुले पसलमा राखेका डिजिटल काँटा प्रमाणिकरण नहुदा उपभोक्ता ठगिदै गएका छन । नाप तौल विभागको प्रमाणिकरण पश्चात मात्र खरिद विक्री गर्न पाइने भएपनि बिना प्रमाणिकरण हाल सम्म जुम्लाका अधिंकाश खाद्य तथा किराना पसलहरुमा डिजिटल काँटा चलाएको पाइएपछि उपभोक्ता ठगिदै गएका हुन । मंगलबार प्रशासनको अगुवाईमा गरिएको बजार अनुगमनका क्रममा यस्तो पाइएको हो ।
अनुगमनका क्रममा कतै ढुंगालाई ढक बनाएको भेटियो भने कतै ठुला पसलहरुमा राखिएका डिजिटल काँटा प्रमाणिकरण नभएको भेटिएपछि उपभोक्ता दैनिक ठगिरहेको खाद्य अनुसन्धान अधिकृत अमित भुषण सुमनले बताए । उनका अनुसार डिजिटल काँटामा नापतौल विभागले टास्ने प्रमाणिकरणको स्टिकरै नटासिएकाले विभिन्न पसलहरुबाट काँटाहरु बरामत गरिएको बताए । उपभोक्ताहरुलाई जागरु बनाउन बेला बेला उपभोक्ता भेला प्रचार प्रशार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढ्थापाले बताए ।
उँहाले भन्नु भयो अरु भन्दा जुम्लामा संचालित मिठाई पसल अव्यबस्थित देखिन्छन । सुधार गर्न निर्देशन दिएका छौ अर्को अनुगमन सम्म सुधार नभए बन्द गरिने बुढ्थापाको भनाई छ । नापतौलमा भएको अनियमितताका कारण जुम्लाका उपभोक्ताहरु अहिले सम्म मारमा परेको अनुगमनमा सहभागी नागरिक समाज जुम्लाका संयोजक राज बहादुर महतले बताए ।
साथै नापतौलमा तलमाथि भएपनि निरन्तरको अनुगमनले जुम्लाका व्यापारी सजक बन्दै गएको समेत बताइएको छ । मंगलबार गरिएको बजार अनुगमनबाट २४ पसलहरु मध्य १२ वटा पसलमा मात्रै मिति गुज्रेको सामान भेटिएको र सबै पसलहरुमा साईनबोर्ड राखेको र प्यान नम्बर लिएको पाईएपछि व्यापारी हरु सजक भएको बताइएको छ । अझै उपभोक्ताहरु प्रति व्यापारी उत्तरदायी हुनुपर्ने भन्दै स्वयम् उपभोक्ताहरु पनि सामान खरिद गर्दा चनाखो हुनुपर्ने बताइएको छ ।
जुम्लामा नापतौल गर्ने आधिकारी निकाय नहुदा उपभोक्ताहरु ठगिएकोले आगामी दिनमा यो समस्यालाई समधान गर्न जनप्रतिनिधिहरुले रणनितिक योजना बनाउन आबश्यक रहेको सरोकारवालाको भनाई छ । र आगामी दिनमा बजार भन्दा ग्रामिण क्षेत्रका पसलहरुमा अनुगमनलार्ई तिव्रता दिईनु पर्ने जुम्लाको उपभोक्ताको आग्रह छ ।