सुर्खेत । सेवाग्राहीबाट घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका मालपोत कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख गणेश प्रसाद आचार्यविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । यही असार १ गते पक्राउ परेका आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठामाडौंले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
घर जग्गा रोक्का तथा पास गर्दा नियमानुसार हुने काम नगरी विभिन्न बहानामा सेवाग्राही संग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतको टोलीले ३० हजार घुस रकम लिएको अवस्थामा पक्राउ गरेको थियो ।
अनुसन्धान हुंदा आचार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि भएको भन्दै मुद्दा दर्ता गरेको जनाएको छ । आचार्यलाई बिगो ३० हजारसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको आयोगको काठमाडौं कार्यालयले जनाएकाे छ ।