☰ open Loading... 18 November 2024|  

‘राकम कर्णालीलाई प्लाष्टिकमुक्त र देशकै नमूना शहरको रुपमा विकास गर्छौँ’
  | २८ असार २०७४, बुधबार १९:४७

दैलेख जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित आठबीस नगरपालिकामा अपर कर्णाली हाइड्रो निर्माण हुदैछ । आठबीसको केन्द्र राकम कर्णालीमा मेगासीटी बन्ने तरखर गर्दैछ । सोही नगरपालिकामा स्थानीय तहको चुनावबाट नेपाली काँग्रेसका तर्फबाट उपमेयर पदमा दिपा बोहोरा उम्मेदवार बनिन र विजय प्राप्त गरिन् । तिनै उपमेयर बोहोरासंग हाम्रा सहकर्मी शेरबहादुर थापाले आठबीस नगरपालिकाको सम्वृद्वि वरिपरि रहेर कुराकानी गरेका थिए । प्रस्तुत छ तिनै कुराको सम्पादित अंश ः

कार्यकारी भूमिकामा नहुँदा जनताको मन जित्नु भो, अब कार्यकारी बन्दा कसरी मन जित्ने योजना बनाउनु भएको छ ?
विगतमा मैले धेरै सामाजिक कार्य गरेको छु । उतिबेला कार्यकारी भूमिकामा नभएपनि मैले समाजको रुपमान्तरणका लागि खेलेको भूमिकालाई जनताले यसपटकको स्थानीय तहको चुनावमा जिताएर सम्मान गरे । मैले एचआइभी पिडित महिला, बालबालीकाका क्षेत्रमा लामो समय निःशुल्क रुपमा काम गरें । केहि समय कर्मचारी भएर नि कार्यरत रहें ।

म अब आधिकारीक रुपमा कार्यकारी पदमा पुगेको छु । मेरो काँधमा आठबीस बनाउने जिम्मा आएको छ । आम जनताले मलाई भरोसा गरेर आठबीस रुपान्तरणको जिम्मा दिएका छन् । यो चुनाव संसदीय जस्तो चुनाव होइन, यो चुनावबाट हामी अन्य ठाँउमा जाँदैनौं । त्यँिह बसेर जनताको समस्या समाधान गर्नेछौं । समाजमा व्याप्त दरिद्रता, पछौटेपन, गरिबी, भोकमरी, सामाजिक रुढीवादी परम्परा विरुद्व, महिला तथा बालबालिकामा गरिने हिंसाको समाधान गर्ने सवालमा हामी समाजसँग मिलेर कामहरु गर्नेछौं । कम आय भएका, बेसहारा, असहाय, दलीत, जनजाती समूदायलाई सीपमुलक तालिम दिएर वा जनचेतना अभिवृद्वि गरेर भएपनि समाजको मुलधारमा ल्याउने प्रयास गर्नेछौं । भौगोलिक अवस्था लाई ध्ययान दिदै व्यक्तिहरुको मनोभावना बमोजिम हामी समाजलाई अगाडी बढाउने छौं ।

आठबीस क्षेत्रमा सामाजिक कुप्रथा कायमै छ । कसरी कुप्रथालाई न्यून गर्नुहुन्छ ?
हाम्रो प्रदेश नं. ६ मा खासगरी पश्चिम क्षेत्रमा छाउपडी प्रथा कायम नै छ । अझपनि हामीले छाउ लाई सामान्यरुपमा लिन सकेका छैनौं । परम्परागत सोचका कारण यस्तो भएको हो । अहिले पनि कति दिदिबहिनिहरुले छाउपडी गोठमै ज्यान विताउनुपरेको छ । छाउपडि प्रथाको उन्मुलन गर्नु भनेको महिलाहरु घरमै बस्नु भन्ने होइन । मैले बुझेअनुसार महिलाहरु हावा पास हुने ठाँउ समेत नभएको, खरको छाप्रो, बाख्रा गोठ भन्दापनि सानो ठाँउमा ८–१० जना कोचिएर बस्नुपर्ने परम्परालाई त्याग गर्न सकेको खण्डमा छाउपडी उन्मुलन भन्न सकिन्छ ।

अर्थात अब महिलाहरुले सुरक्षित ठाँउमा बस्नप¥यो । उनीहरुलाई खुला ठाँउ होस, त्यहाँ खाटहरु विच्छ्याइएको होस । कम्तिमा पनि उनिहरुलाई चाहिने आवश्यक सुविधा भएको कोठा होस । उनीहरु ५ दिनसम्म बस्दा पनि गोठमा बसेको जस्तो आभाष नहोस । त्यस्तो व्यवस्था गरेको खण्डमा मात्रै छाउपडि प्रथा उन्मुलन गर्न सकिन्छ । हाम्रो संस्कारलाई हामीले एकैपटकमा तोड्न सक्दैनौं ।

हामीले महिलाहरुलाई यौनाङ्गहरु सफा राख्नुपर्छ, कपडाहरु नियमित रुपमा सफागर्ने र घाम लाग्ने ठाँउमा सुकाउने जस्ता कुराहरुमात्रै सिकाउन सकेको खण्डमा उनीहरुको स्वाथ्य राम्रो हुन्छ । उनीहरुमा यस्तो बानीको विकास गर्नसकेको खण्डमा समाजमा रुपान्तरण विस्तारै हुँदै जान्छ । हामीले स्तरीय बसाई गर्न सकेको खण्डमा पनि महिलाहरुले राहत पाउने अवस्था छ हामी अब त्यसैमा लाग्छौं । त्यस्तै हाम्रो क्षेत्रमा जातीय विभेदका समस्याहरु पनि छन् ।

ति समस्या समाधान गर्न हामीले अभियानै शुरु गर्नुपर्ने देखिएको छ । आगामी ५ वर्षभित्र आठबीस नगरमा यस्ता कुप्रथाहरु कम भएर जानेछन् ।

तपाई लामो समय एचआइभी भएकाहरुको सहयोगमा खट्नुभयो । उनीहरुको आर्यआर्जनमा बढावा दिनका लागि के गर्ने योजना बनाउनुभएको छ ?
एकदमै, विगतमा पनि मैले यो क्षेत्रमा धेरै काम गरेको छु । मसँग पर्याप्त अनुभव पनि छ । धेरै दिदिबहिनीहरुका श्रीमान वितेका छन् । कसैका श्रीमान र श्रीमति वितेर छोरा छोरीहरुको अवस्था दयनीय भएको छ । बालबालिकाहरु एचआइभी पिडीत छन् । उनीहरुका बालबालिकाहरुलाई पढाउन समस्या भएको छ । गरिबि बढेको छ । तर हामी उनीहरुका समस्या समाधान गर्न सक्छौं । यहाँ हामीले गर्न चाहेको खण्डमा असम्भव भन्ने कुरा केहि छैन ।

साविकको चारओटा गाविसमा मात्रै ८६ जना एचआइभी भएको तथ्याकं छ भने ६३ जनाले एआरटी औषधी प्रयोग गरिरहेका छन् । विगतमा पहिले कुनै सेवा थिएन उनीहरुका लागि । म दैलेख बस्दै गर्दा उतिबेला प्रत्येक दुइ महिनामा चिकित्सकको टिम सहित एआरटी बाँड्ने जो प्रावधान बनाएका थियौं । अहिले पनि त्यसले निरन्तरता पाएको छ ।

हामीले उनीहरुका लागि च्याउ खेतिको तालिम दियौं, सिलाई कटाइको समेत तालिम दिएका थियौं । त्यसबाट कम्तिमा उनीहरुले घर खर्च चलाउन अरुको सहारा लिनुपर्ने अवस्था अन्त्य होस भन्ने हेतुले हामीले त्यस्ता कार्यक्रमहरु गरेका थियौं । तर उनीहरुले ती सीपमूलक तालिमबाट फाइदा लिन सकेनन् । उनीहरु आँखा नदेख्ने हुनु, सामान्य लेखपढ सम्म गर्न नसक्ने हुँदा त्यसो भएको हो ।

उनका बच्चा बच्चिहरु पनि सानै भएकाले त्यो कार्यक्रम सफल भएन । अब हामी उनीहरुलाई तरकारी खेतितर्फ आकर्षण गराउन खोज्दैछौं । हाम्रो समाजमा एक मात्र खेतिपाती गर्दा खान पुग्दैन कि भन्ने भ्रम छ । एक गाई, एक भैंसी, कुखुरा, वाख्रा अर्थात सबै वस्तुहरु उहाँहरुले पाल्नु भएको छ । यसले उहाँहरुमा अझैपनि व्यवसायीक सोच विकास नभएको प्रस्ट पार्छ । अब हामीले उहाँहरुको मनोभावना बुझेर उहाँहरुको सीप, क्षमता अनुरुपका कामहरु गर्ने वातावरण बनाउन लाग्छौं । उहाा लगायत समाजमा पछि परेका सबैलाई व्यवसायीकरण हुन अभिप्ररीत गछौं ।

प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रममा सहभागि हुनुभयो । कार्यक्रमले कतिको सहयोग पुगेको अनुभव गर्नुभो ?
अभिमुखिकरण तालिमले आफैलाई परिवर्तन गर्न सहयोग गरेको छ । लामो समयपछि स्थानीय चुनाव भएको र कार्यकारी अधिकार पनि स्थानीय तहमा आएकोले हामी केहि असमञ्जसमा थियौं । ती असमञ्जसहरु केहि हदसम्म समाधान गरेको छ अभिमुखिकरणले । खर्च विवरण राख्ने, विकास निर्माण, आर्थिक सम्वृद्विलगायतका क्षेत्रमा गर्न सकिने कामहरुका बारेमा ज्ञान बढेको छ । जसकालागि जे काम गर्नुपर्ने थियो ती काम विगतमा त्यो क्षेत्रमा भएनन् ।

जनताकालागि आएका विकासे कार्यहरुमा जनताले लाभ लिन सकेनन् । अब हामीले जनपक्षिय कामहरु गर्ने, उनीहरुका चाहना बमोजिमका विकासे कार्यक्रमहरु ल्याउने योजना बनाएका छौं । हामी आएको बजेटलाई जनताको पक्षमा कार्यान्वयन गर्न सर्तक छौं । हामीले बढी भन्दा बढी जनसहभागितामा आधारित विकास निर्माणका कामहरु गर्नुपर्ने शिक्षा पाएका छौं । काम गर्ने बेलामा राज्य सरकार, केन्द्र सरकार वा अन्य क्षेत्रबाट कसरी सहयोग लिने भन्ने बारेमा समेत कक्षा पायौं । स्थानीय सरकार सञ्चालनको प्रक्रिया, कार्यको बाँडफाँड लगायतका थुप्रै विषयमा हामीले जान्न पायौं । सुर्खेतबसाई उपलब्धिपूर्ण रहेको मेरो ठम्याई छ ।

कस्तो आठबीसको परिकल्पना गर्नुभएको छ ?
हामीले आठबीसको समृद्विकालागि मिठो सपना देखेकाछौं । सदरमुकाम बाट टाढा रहेको नगर, आर्थिक, भौतिक हरेक हिसाबले पछि परेको नगर, बाटो घाटोको अभाव, पानीको समस्या, विजुलीको लाइन नहुनु, भौगोलिक विकटता, राम्रो शिक्षा स्वास्थ्यको व्यवस्था छैन । उक्त क्षेत्रमा हरेक वर्ष दुर्घटना हुन्छन तर त्यहाँ उपचार हुन नसकेर केहि मान्छेहरु बाटैमा ज्यान गुमाएको खबर हामीले सुन्दै आएका छौं । हामीले आठबीस नगरको केन्द्र राकम कर्णालीमा प्राथमिक स्वास्थ्य केन्द्रको परिकल्पना गरेका छौं ।

गुणस्तरीय स्वास्थ्य सेवा सबैभन्दा महत्वपूर्ण छ । तबमात्र स्वस्थ जनशक्ति तयार हुन्छ भन्ने मेरो मान्यता हो । पर्यटन, जलयात्रा, पैदलमार्गको समेत हामीले सम्भावना देखेका छौं । त्यसका साथै कृषिमा हामीले एक वडा एक पकेट क्षेत्रको रुपमा विकास गर्ने सोच बनाएका छौं । विजुली उत्पादन बढाउने योजना बनाएका छौं । हामीले शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकता दिई विकास गर्ने योजना बनाएका छौं । लैङ्गिक हिंसामुक्त, बालहिंसा मुक्त नगरको रुपमा हामीले आठबीसलाई बनाउने सपना देखेका छौं ।

भोट माग्न जानेबेलामा बाटोको समस्या भएको हामीले देखेका छौं । सबैभन्दा मुख्य चुनौति पनि हाम्रा लागि यो हो । धेरैले मानसिक हिंसा भोगेका छन् । अबको ५ वर्षभित्र दलितहरुले भेदभावको भावनामा कमी आएको महसुस गरेका हुनेछन् । बालबालीकाले गुणस्तरीय शिक्षा प्राप्त गर्दै गरेका हुनेछन् । न्यून महिलाहरुले लैंगिक हिंसा खेप्नुपरेको अवस्था हुनेछ । आर्थिक रुपले सम्वृद्व बनाउन त्यहाँ उत्पादन हुने जडिबुटीको खानीलाई प्रयोग गर्ने योजना बनाउनेछौं ।

यो परिकल्पनाले साकार रुप लिन्छ भन्ने अाधार के के हुन् ?
म एक्लैले यो काम गर्न सक्छु भन्ने होइन । मलाई यो काम गर्न यस क्षेत्रका सबै दल, व्यक्ति, समूदाय, समाजसेवीहरुको सहयोग चाहिन्छ । कामको शुरुवात गर्न अप्ठेरो हो । जब हामी काम शुरु गछौं तब हामीलाई समस्या आएपनि समाधान भएर जानेछन भन्नेमा विश्वास छ । त्यसैले सबैले आजैदेखि अहिल्यै देखि राम्रो कामको सुरुवात गरौं । आउनुस सँगै हातेमालो गरौं र आठबीसलाई समृद्व नगरको रुपमा विकास गरौं ।

उसोभए पहिलो बैठकबाट के निर्णय गर्नुभयो जनताका लागि ?
हामीले मदिरा नियन्त्रणको निर्णय गरेका छौं । हामी जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारीले मदिरा सेवन गरेर सार्वजनिक कार्यक्रममा सहभागि नहुने भन्ने निर्णय भएको छ । यदि त्यसो गरेको भेटिएमा तत्काल कारवाही गर्ने निर्णय भएको छ । विद्यालयको ३ सय मिटरको आसपासमा मदिरा विक्रि वितरण तथा सेवन गर्न नपाई कानुनी व्यवस्थालाई कडाइका साथ लागु गर्न वडा अध्यक्षहरुलाई समेत आग्रह गरेका छौं ।

आठबीस क्षेत्रमा बैंकिङ्ग सेवा छैन । यसबारेमा के सोच्नुभएको छ ?
आठबीस मात्र होइन । प्रदेश नं. ६ का अधिकांश नगर तथा गाउँपालिकामा अहिलेसम्म वाणिज्य बैंकहरु पुगेका छैनन । अब साउन देखि नै हाम्रो नगरमा पनि वाणिज्य बैंक खुल्ने आश्वासन पाएका छौं । हामीले निजी बैंकहरुलाई समेत लैजाने योजना बनाएका छौं । त्यहाँ इन्टरनेट, फोनले काम नगर्ने हुँदा समस्या भएको हो । हामीले प्रविधिमैत्री नगरपालिका बनाउने योजना बनाएका छौं । अब हामी त्यो प्रक्रियामा लाग्छौं । सफा, वायुप्रदुषण मुक्त नगर बनाउने योजना बनाउँछौं ।

नगरका हरेक बजारमा ‘सोफी’ का बोतलहरु, प्लाष्टिकका झोलाहरु छ्यापछ्याप्ती भेटिन्छन् । जसले गर्दा प्रदुषण बढने खतरा बढेको छ । यसको नियन्त्रण गर्न के गर्नुहुन्छ ?
जलवायु परिवर्तनबारेमा हामीले धेरै कुरा सुनेका छौं । गाँउ तथा बजारमा जथाभावि प्लाष्टिक फाल्नाले वायुप्रदुषण बढ्दै गएको छ । अहिले आठबीसमा त्यति धेरै समसया नभएपनि आगामी दिनमा पक्कै त्यो समस्या आइपर्ने छ । त्यसैले हामी अहिले नै त्यो बारेमा सचेत हुन जरुरी छ । हामी जनप्रतिनिधहरुले भविष्यमा प्रदुषणमा हुर्केको जनशक्ति निर्माण नहोस भन्नेमा ध्यान दिएका छौं ।

मेरो भनाई के हो भने हामीसँग पर्याप्त मात्रामा अल्लो छ । अल्लोलाई प्रशोधन गरेर त्यसैलाई सामान बोक्न प्रयोग गरेको खण्डमा प्रदुषण मुक्त हुन्छ । हामीले त्यहाँका व्यापारीहरुलाई अल्लो या प्लाष्टिकबाहेक अन्य झोलाहरु प्रयोग गर्नुपर्ने बाध्यकारी नियम बनाउनेछौं । त्यो कडाईका साथ लागु गर्नेछौं ।

यससवालमा उद्योगी व्यापारी साथीहरुको पनि सहयोगको खाँचो पर्नेछ । त्यस्तै फोहोर व्यवस्थापनको सवालमा कसरी काम गर्ने भन्ने चिन्ता लागेको छ । प्लाष्टिकजन्य फोहोरहरु खाल्डोमा गाड्दा केहि मात्रामा बातावरण सफा हुनसक्छ भन्ने मलाई लाग्छ । त्यसैले प्लाष्टिक मुक्त क्षेत्र, प्लाष्टिक निशेधित क्षेत्र र प्लाष्टिक कम प्रयोग हुने क्षेत्रको रुपमा आठबीसलाई अघि बढाउन खोजेका छौं ।

हामीले फोहोर व्यवस्थापन गर्न छुट्टै डम्पिङ्ग साइड बनाएका छैनौं । हामीले हरेक घरले कम्तिमा प्लाष्टिक जन्य फोहोरलाई खाल्डो खनेर गाड्ने, कुहिने फोहोरलाई बारीमा व्यवस्थापन गर्ने कार्यको शुरुवात गरेको खण्डमा यो कार्यले सफलता पाँउ भन्ने मलाई लाग्छ । भविष्यमा त्यहाँ जनघनत्व बढ्ने पक्का छ । मेगासीटिको रुपमा समेत विकास हुदै आएको राकम कर्णालमिा हामी फोहोर फाल्ने ठाँउको छनोट गरी अघि बढ्ने योजना बनाउनेछौं तर यसकालागि केहि समय भने लाग्छ ।

नेताहरुलाई बारम्बार आफ्ना कार्यकर्तालाई मात्रै सहयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ । अब तपाईले आफ्नै कार्यकर्ताको पक्षपोषण गर्दै हिड्ने वा सबैलाई समेटने ?
मैले विगतमा कुनै पार्टी, कुनै जाती, कुनै भेग नभनेर सबैलाई समान ठान्दै काम गरेको छु । बैशाख ३१ गते चुनाव भयो, त्यो भन्दा अघिसम्म हामी दल विशेषका थियौं । हामी निर्वाचित भएर आयौं । अब हामी सबैका भएका छौं । मैले हिजो पनि कसैलाई विभेद गरिनँ । म यहाँहरुको पत्रिका मार्फत सबै जनप्रतिनिधिहरुलाई के आग्रह गर्दछु भने आम जनतालाई समान सेवा प्रवाह गर्नुस । कसैलाई कुनै आग्रह पुर्वाग्रह नराखेर काम गर्नुस । जनताको कामलाई पहिलो प्राथमिकता दिएर काम गर्नुपर्छ ।

हामी २० वर्षपछि भएको चुनावका प्रथम प्रतिनिधिले हो । यदि हामीले अहिले राजनीतिक आग्रह पुर्वाग्रह राखेर काम गर्न थाल्यौं भने, कर्मचारीमा राम्रो संस्कार बसाउन सकेनौं भने, समाजमा सदभावको सामञ्जस्यता कायम गर्न सकेनौं भने, हामीले ऐतिहासीक काम गर्न सकेनौं भने त्यो समाजले हामीलाई धिक्कार्छ ।

राजनीतिक संस्कार बसाउन, सभ्य समाज निर्माण गर्न हामी सबै लागिपर्नुपर्ने आवश्यकता छ । एकातिर यो अवस्था छ भने अर्कोतिर भौतिक पूर्वाधारको विकास गर्नुछ । अहिले गाँउमा महिला भन्दा पुरषलाई चुनाव लागिरहेको मैले पाएँ । तँ काँग्रेसको मान्छे, म एमालेको मान्छे भनेर विवाद गरिने, गाली बेइजती हुने, घरमा नआउन भन्ने जस्ता घटनाहरु भइरहेका छन् । त्यसो हुनु भनेको राजनीतिक चेतनास्तरमा कमी हुनु हो । चुनाव सकियो मर्दा पर्दा चाहिने त्यहाँको मान्छे हो । तसर्थ समाजमा राजनीतिक चेतना बढाउन मैले आवश्यक ठानेको छु । समाजमा म जातीय, क्षेत्रीय, भेगीय वा अन्य हिसाबले भेदभाव नगर्ने प्रण गर्दछु । जसको समस्या बढी छ त्यो समस्या समाधान गर्न पहल गर्नेछु ।