सुर्खेत । यस क्षेत्रमा हुँदै आएको उच्च वाल मृत्युदर न्यूनिकरण गर्न मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा समुदायमा आधारित नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन कार्यक्रम संचालनमा आएको छ । ५ वर्ष मुनी वालवालिकालाई बचाउनको लागि नेपालमै पहिलो पटक क्षेत्रीय अस्पतालमा यो कार्यक्रम सञ्चालनमा आएको हो ।
नवजात शिशुहरुलाई कसरी हेरचाह गर्ने, उनीहरुलाई के–के रोगहरु लाग्छन, कसरी उपचार गर्ने, आफुले उपचार गर्न नसके कतिवेला रिफर गर्ने जस्ता लगायतका व्यवहारिक ज्ञान सिप विकास गर्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई तालिम दिइने हेतुले समुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकिकृत व्यवस्थापन सम्वन्धी तालिम केन्द्र प्रमाणिकरण क्षेत्रीय अस्पतालमा सञ्चालनमा ल्याइएको छ ।
स्वास्थ्य मन्त्रालयका वाल स्वास्थ्य विभागका निर्देशक परशुराम श्रेष्ठले क्षेत्रीय अस्पताल सुर्खेतका सुपरिटेन्डेन्ट डा. डम्वर खड्कालाई समुदायमा आधारित नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन तालिम केन्द्रको प्रमाणिकरणको प्रमाणपत्र प्रदान गरेका थिए ।
केन्द्रले प्रशिक्षक र प्रशिक्षार्थी गरी अहिलेसम्म सय जना स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको तालिम केन्द्रका प्रमुख वालरोग विशेषज्ञ डा. नवराज केसीले जानकारी दिएका छन् । जनशक्ति विकास गरेको, वालरोग वार्ड निर्माण गरेको, अस्पतालमा एनआइसीयू सेवा सुरु गरिएको र वाल उपचारको सेवालाई वृद्धि गरिएको समेत पनि उल्लेख गरे ।
५ वर्षमुनीका वालवालिकाहरुलाई झाडापखाला, निमोनिया, कुपोषण, मलेरिया लगायतका रोगहरु बढी लाग्ने भएकोले यिनै रोगहरुलाई फोकस गरी स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिने गरिएको डा. केसीले बताए ।
तलिमवाट वालवालिकालाई कसरी उपचार गर्ने भन्ने बारेमा पनि स्वास्थ्यकर्मीको व्यवहारमा परिवर्तन आउने अपेक्षा अस्पतालको छ । कार्यक्रम स्वास्थ्य मन्त्रालय समुदायमा आधारित नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन कार्यक्रमका संयोजक पशुराम श्रेष्ठले नेपालमै पहिलो पटक यो कार्यक्रम मध्यपश्चिम क्षेत्रीय अस्पतालमा लागु गरिएको जानकारी दिए ।
उनले ९० लाख रुपैयाको लागतमा संचालन भएको यो कार्यक्रमलाई अन्य अस्पतालहरुमा पनि विस्तार गदै जाने बताएका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सुपरिटेन्डेन्ट डा.डम्वर खड्काले नेपालमै पहिलो पटक अस्पतालले प्रमाण पत्र पाउनुमा सम्पूर्ण सरोकारवाला निकायको महत्वपूर्ण भुमिका भएको बताए । सबैले आ–आफ्नो क्षेत्रबाट सबैले साथ सहयोग गरेकै कारण देशमै पहिलो पटक यो कार्यक्रम क्षेत्रीय अस्पतालबाट लागु गर्न सफल भएको उनले बताए ।
अस्पतालले गुणस्तरिय सेवा प्रवाह गर्न कटिवद्ध रहेको बताएका खड्काले मध्यश्चिम क्षेत्रीय अस्पताललाई एउटा नमुनाको रुपमा विकास गर्न आफूहरु जुटेको उल्लेख गरे । उनले अस्पतालमा सुरु भएको तालिम केन्द्रलाई ६ नम्वर प्रदेशकै तालिम केन्द्रको रुपमा विकास गर्ने योजना रहेको पनि बताए ।
यो कार्यक्रम पश्चात वालवालिकालाई कसरी उपचार गर्ने भन्ने बारेमा पनि स्वास्थ्यकर्मीको व्यवहारमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले क्षेत्रीय अस्पतालमा चेकजाच लागि आउने गर्भवती महिलालाई भिडियो एक्सर गर्न लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने प्रतिवद्धता जस्ता कार्यक्रमहरु सञ्चालनमा ल्याएको बताए । उनले आगामी दिनमा बालमृत्यु दर न्यूनिकरण गर्न नगरपालिकाले सवैपक्षसंग सहकार्य गरेर अघि बढ्ने बताए ।