☰ open Loading... 17 November 2024|  

सिम्ताकाे प्रथम गाउँसभा : सिम्ता उज्यालाेदेखि स्वच्छ खानेपानी कार्यक्रम पारित
  | ३० असार २०७४, शुक्रबार १६:३३

गाउँपालिकाकाे बजेट झण्डै १५ कराेड

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले पहिलो गाउँसभाबाट चारवटा कार्यक्रमलाई महत्वको कार्यक्रमका रुपमा अघि बढाएको छ ।गाउँपालिकाको केन्द्र वजेडिचौरमा भएको पहिलो गाउँसभाबाट सिम्ता उज्यालो कार्यक्रम, सडक सञ्जाल विस्तार कार्यक्रम, कृषिसँग सम्वन्धित काम गर्न जनतासँग सिम्ता गाउँपालिका तथा स्वच्छ र सफा खानेपानी कार्यक्रम गाउँपालिकालाई अघि बढाइएको हो ।

गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षको वजेटमा यी चारवटै कार्यक्रमलाई सफल बनाउनका लागि विभीन्न योजनाहरु सार्वजनिक गरिएको छ ।

गाउँसभाबाट १४ करोड ८८ लाख ३८ हजार रुपैयाँ बराबरका योजनालाई पास गरिएको छ । जसभित्र कृषितर्फ ७० लाख, उद्योग वाणिज्यतर्फ तीन लाख, पर्यटनतर्फ २० लाख, सहकारीतर्फ २० लाख र वित्तियतर्फ तीन लाख गरी आर्थिक विकासमा ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै सामाजिक विकासतर्फ दुई करोड ९९ लाख ७८ हजार रुपैयाँ छुट्टिएको छ । जसभित्र शिक्षातर्फ ७१ लाख, स्वास्थ्यतर्फ २० लाख, खानेपानी तथा सरसफाईतर्फ एक करोड ५० लाख, संस्कृति प्रवर्द्धनतर्फ तीन लाख, खेलकूद तथा मनोरञ्जनतर्फ पाँच लाख, लौङ्गिक समानता तथा सामाजिक समावेशिकरणका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

सिम्ता गाउँपालिकामा पूर्वाधारका लागि ४४ लाख ५० हजार रुपैयाँको वजेट छ । जसभित्र सडक, पुल तथा झोलुङ्गे पुलका लागि ६ करोड ८३ लाख ६० हजार, सञ्चाईका लागि ६० लाख, साना जलवुद्युत र सौर्य ऊर्जाका लागि दुई करोड ५० लाख, वन तथा भुसंरक्षणका लागि पाँच लाख, वातावरण संरक्षण तथा जलवायू परिवर्तन असर न्यूनिकरणका लागि तीन लाख, फोहोरमैला तथा ढल व्यवस्थापनका लागिएक लाख ५० हजार, जल उत्पन्न प्रकोप नियन्त्रणका लागि ३० लाख, र विपद् व्यवस्थापनका लागि पाँच लाख रुपैयाँ विनियोजन भएको छ ।

वजेट वक्तव्यअनुसार सिम्तामा संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ५२ लाख रुपैयाँ विनियोजन भएको छ । जसभित्र सुरक्षा व्यवस्थापनमा तीन लाख, सूचना प्रविधितर्फ ९ लाख ५० हजार, पञ्जिकरण व्यवस्थापनतर्फ पाँच लाख, तथ्याङ्क संकलन, अभिलेख व्यवस्थापन तथा प्रकाशनका लागि १० लाख, सुशासन प्रवर्द्धनका लागि पाँच लाख, अनुसन्धान तथा विकासका लागि १५ लाख तथा अन्यत्र वर्गिकृत नभएकोतर्फ पाँच लाख रुपैयाँ वजेट पास भएको छ ।

जनप्रतिनिधिको कार्यकालभर गरिने क्रियाकलापलाई क्रमैसँग सफल बनाउँदै लैजानेगरी सिम्तामा वजेट तयार गरिएको छ । सिम्ता उज्यालो कार्यक्रममार्फत अव सवै वडाहरुमा विद्युतिकरण गरिनेछ ।

यस्तै सवै वडाहरुमा स्तरिय सडक सञ्जाल विस्तार गर्नुका गाउँपालिका र वडाहरुमा चक्रपथसमेत बनाइने भएको छ । आगामी वर्ष कार्यन्वयन गरिने योजनाहरुभित्र मल, विउमा सहुलियत दिने तथा व्यवसायिक र प्रविधियुक्त कृषि प्रणालीमा प्रोत्साहन गरिनेछ ।

सिम्ताका सुख्खा क्षेत्रलाई मध्यनजर गरी घैँटामार्फत् खानेपानीको व्यवस्थापन गर्ने तथा विभीन्न प्राकृतिक स्रोतलाई स्वच्छ खानेपानीको रुपमा व्यवस्थापन गर्ने योजना बनाइएको छ ।

गाउँपालिकाले जनप्रतिनिधि पाएपछि बनाइएका त्यस्ता सिम्ताका महत्वका योजनाहरुलाई सफल पार्ने आधारको रुपमा योजना ल्याइएको र यसको कार्यन्वयनमा सवैले साथ दिनुपर्ने गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले जोडदिए ।

गाउँसभाको उद्घाटन समारोहमा पूर्वसभासद् कमला शर्मा, राजनितिक दलका प्रतिनिधिहरु नेपाली काँग्रेस क्षेत्रनम्वर १ का सभापति खड्ग पोखरेल र नेकपा एमाले सिम्ता संगठन कमिटी संयोजक ऐनबहादुर चन्दलगायतले गाउँपालिकाले गर्ने हरेक क्रियाकलापलाई रचनात्मक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।