☰ open Loading... 17 November 2024|  

एक वर्षमा ८ लाख रावश्ज संकलन
  | ३१ असार २०७४, शनिबार १५:३३

जाजरकाेट । अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले एक वर्षमा ८ लाख राजश्व संकलन गरेको छ ।  आर्थिक वर्ष २०७३÷०७४ मा एक हजार २ सय ५० सवारी साधन कारवाही गरि ८ लाख १४ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको हो ।

सवारी चालक अनुमतिपत्र विना चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी बढी मात्रामा कारवाहीमा परेका छन् । सबैभन्दा धेरै असार महिनामा १ सय ७२ सवारी साधन कारवाहीमा परेको ट्राफिक प्रहरी जवान राजेन्द्र शाहीले जानकारी दिए । सवारी कारवाहीबाट असारमा मात्र १ लाख ५ हजार ५ सय राजश्व संकलन भएको शाहीले बताए ।

साउनमा ७३, भदौमा ९५, असोजमा ८६, कात्र्तिकमा ८२, मंसीरमा १ सय ६ सवारी साधन कारवाहीमा परेका छन् । यसैगरी, पुसमा ७९, माघमा १ सय ६, फागुनमा १ सय १४, चैतमा ९२, बैशाखमा ९७, जेठमा १ सय ३८ सवारी साधन कारवाही गरिएको ट्राफिक ईन्चार्ज कुलबहादुर ओलीले जानकारी दिए ।

जाजरकोटमा अहिले अस्थायी रुपमा ३ जना ट्राफिक प्रहरी कार्यरत छन् । ट्राफिकले खलंगा र छेडा गरि दुई ठाउँमा चेकपोष्ट स्थापना गरेको छ । स्रोत साधन र बस्ने भवनको अभावमा काम गर्न समस्या भईरहेको ट्राफिक प्रहरीको गुनासो छ ।

छिन्चु–जाजरकोट खण्डको भेरी नगरपालिका–४, शान्तिचौतारी नजिकै टिनको अस्थायी टहरा बनाएर ट्राफिक प्रहरी बसिरहेको छ । ट्राफिकले ठाउँको समस्याले दुईतर्फी ‘ईन्ट्रि’ गर्न सकेको छैन । जसले गर्दा राजश्व संकलनमा समस्या भएको छ । वर्षातको समयमा पानी चुहिँदा बस्न समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ ।