सुर्खेत : सुखेतको रातानाङ्ग्लामा निर्माण हुन लागेको मौसमी उपकरण (राडार) केन्द्र आसपासमा वृक्षारोपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले सुर्खेत–दैलेख जिल्लाको सीमानामा निर्माण हुन लागेको मौसम सम्वन्धी पूर्वानुमान थाहा हुने उपकरण (राडार) स्थलमा केही रुख काटिएकाले कार्यालयले वृक्षारोपण गरेको हो ।
निर्माणस्थलका विरुवा काटेपछि वृक्षारोपण गर्न माैसम विभाग र वन तथा भू–संरक्षण मन्त्रालयसंग सम्झौता भएकाे थियाे । जिल्ला वन कार्यालय सुर्खेतको प्राविधिक सहयोगमा करिव एक हजार ६ सय विरुवा निर्माण स्थलमा वृक्षारोपण गरिएको मध्यपश्चिम तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकाेटाले जानकारी दिए ।
उनका अनुसार वीरेन्द्रनगर १३ स्थित नलखोला सामुदायिक वनको राउटे गलछेडामा तारबारसहित १ हेक्टर क्षेत्रमा टिमुर, लप्सी, अाेखर, तेजपात, लालीगुँरास तथा निगाला प्रजातिका विरुवाहरु रोपिएको छ ।
वृक्षारोपण कार्यक्रममा जिल्ला वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत सूर्य प्रसाद शर्मा, हावापानी कार्यालयका प्रमुख निराजन सापकोटा, सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध स्थानीयहरुको उपस्थिती थियो ।