☰ open Loading... 17 November 2024|  

चन्दननाथ नगरपालिकाकाे बजेट झण्डै ३१ करोड
  | १ श्रावण २०७४, आईतवार १६:५३

जुम्ला । कर्णालीको पहिलो तथा शिशु चन्दननाथ नगरपालिको जुम्लाको आर्थिक वर्ष २०७४÷७५ का लागि ३० करोड बढिको बजेट प्रस्तुत गरिएको छ । सडक र विजुलीलाई पहिलो प्राथमिकता दिदै प्रथम नगर सभा भएको हो । नगर सभामा चालु आर्थिक वर्ष २०७४÷०७५ का लागि नगर प्रमुख कान्तिका सेजुवालले ३० करोड ९१ लाख ४८ हजार रकम प्रस्तुत गरेकी छन् ।

चालु तर्फ १३ करोड ११ लाख १ हजार र पुँजिगत तर्फ १७ करोड ८० लाख ४७ हजार रकम विनियोजन गरेकाे उनले बताइन । आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन गरिएको योजना मध्ये सडक र विद्युतलाई नगर प्रमुख कान्तिका सेजुवालले पहिलो प्राथमिकता दिएकाे जानकारी दिइन् ।

बजारदेखि दानसाँघुसम्मको सडक कालो पत्रेका लागि ९२ लाख, क्याम्पसदेखि कर्णाली प्राविधिक शिक्षालयसम्मको सडक कालो पत्रेका लागि ९२ लाख र उमखला गाउँदेखि जातिभिडसम्मको सडक कालो पत्रेका लागि ९२ लाख रुपैया उनले नगर सभामा पेश गरेकी छन् । नगर सभामा प्रमुख सेजुवालले भौतिक पुर्वाधार तर्फ १५ करोड २५ लाख र चालुतर्फ २ करोड ४ लाख रकम पेश गरेकी छन् ।

यसैगरी कर्णाली रोजगार कार्यक्रमको २ करोड ७७ लाख, भौतिक पुर्वाधार तर्फ प्रत्येक वडामा २० लाख रुपैयाका दरले २ करोड २० लाख र चालुतर्फको खर्चमा प्रत्येक वडामा २ लाखका दरले २० लाख रुपैया छ । सदरमुकामदेखि ल्याण्डफिल्डसम्म जाने सडक कालो पत्रेका लागि ५० लाख र कर्णाली रोजगार कार्यक्रमको २१ लाख रुपैया पनि विनियोजन गरिएको छ ।

 नगरपालिकाको फोहोर व्यवस्थापन गर्नको लागि ल्याण्ड फिल्ड निर्माणमा १५ लाख रुपैया खर्च हुने नगर प्रमुखले सार्वजनिक गरेकी छ्न् । विजुलीका लागि १ करोड २० लाख र नगरपालिका भरी सौर्य सोलार बत्तिको लागि ६३ लाख ६० हजार रुपैया नगर सभामा सेजुवालले प्रस्तुत गरेकी छन् । नगपालिकामा पार्क निर्माणको लागि ४० लाख, अस्थायी डम्पिङ्ग निर्माणको लागि ४ लाख ५० हजार रुपैया विनियोजन गरिएको छ ।