☰ open Loading... 17 November 2024|  

फोटोसहितको मतदाता नामावली संकलन शुरु
  | १ श्रावण २०७४, आईतवार १८:२५

सुर्खेत । जिल्ला निर्वाचन कार्यालय सुर्खेतले फोटोसहितको मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । कार्यालयले प्रादेशिक र संसदीय निर्वाचनका लागि अाज अाइतबारदेखि मतदाता नामावली अद्यावधिक शुरू गरेकाे छ ।

निर्वाचन आयोगले अागामी १५ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता खुला गर्ने निर्णयअनुसार प्रादेशिक र संसदीय निर्वाचनलाई केन्द्रित गर्दै नामावली संकलन शुरु गरिएकाे जिल्ला निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकृत सुनिता थापाले जानकारी दिएकी छन् ।

उमेर पुगेर पनि मतदाता नामावलीमा नाम लेख्न छुटेका कारण स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएका नागरिकले अाइतबारदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावली दर्ता गराउन उनले आग्रह गरेकी छन् ।

मतदाता नामावलीमा नाम लेख्न छुटेका नागरिकहरुले नामावलीमा नाम लेखाएपछि प्रादेशिक र संसदीय निर्वाचनमा मतदान गर्न पाउने निर्वाचन अधिकृत थापाले जानकारी दिइन् । फोटोसहितको नामावलीमा नाम नभएका नेपाली नागरिकले नागरिकता लिएर जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउनुपर्ने छ ।

सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा नगरुन्जेल मतदाता नामावली अद्यावधिक हुनेछ । जिल्ला निर्वाचन कार्यालयले गत फागुन ९ गतेसम्म संकलन गरेको मतदाता नामावलीअनुसार जिल्लाका ९ वटा तहमा १ लाख ८४ हजार ४ सय जना मतदाता छन् । ०६८ सालको जनगणना अनुसार जिल्लामा अझै ३१ हजार ३६१ जना मतदाताहरुको नामावली छैन् ।

यता, पश्चिमनेपाल डटकमका जुम्ला सम्वाददाता सागर परियारका जिल्ला निर्वाचन कार्यालय जुम्लाले पनि आईतबार देखि फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु गरेको छ । पहिलो दिन संक्रान्ति परेका कारण कसैले पनि मतदाता नामावलीमा नाम दर्ता नगराएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी खुमप्रसाद सुबेदीले  जानकारी दिए ।

विभिन्न राजनितिक दलहरुले गाउँमा नै गएर मतदाता नामावली संकलन गर्न आग्रह गरे पनि आयोगले भने जिल्ला जिल्ला निर्वाचन कार्यालय बाटै मतदाता नामावली संकलन निर्देशन दिएकाले सोहि अनुसार गरिएको बताए ।

पहिलो चरणमा प्राप्त गरिएको परिचय पत्रमा केहि त्रुटि भएमा सच्याउन मिल्ने भन्दै नाम दर्ता गर्न वा सच्याउन आउदा आफ्नो नागरिकताको प्रमाणपत्र लिएर आउनु पर्ने जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख सुबेदीले जानकारी दिए ।

साउन १५ गते मतदाता नामावली संकलन कार्य सकिए लगतै साउन १६ गतेदेखि २० गते सम्म नामावली माथि दाबी विरोधको समय रहेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी अभिनन्द चौलागाईले बताए ।