☰ open Loading... 17 November 2024|  

 गर्मीले बर्दियाको जनजीवन कष्टकर
  | ३ श्रावण २०७४, मंगलवार १६:५०

मनसुन सक्रिय नभएका कारण पश्चिम तराईमा चर्को घाम र गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ । बर्दियामा मंगलबार दिउँसोको तापक्रम ४० डिग्री सेल्सियस रहेको छ । गर्मीका कारण दिनभर आवश्यक कामबाहेक स्थानीय घर बाहिर निस्केका छैनन् । गर्मीले अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ ।

 

भाईरल ज्वरो, टाउको दुस्ख्ने, रिंगाटा लाग्ने, झाडापखालाका बिरामी बढेको बर्दिया अस्पतालका विशेषज्ञ डाक्टर विन्दु पाण्डेले बताइन् । उपचारका लागि दैनिक १ सय ५० भन्दा बढी बिरामी अस्पतालमा आउने गरेका छन् । मधुवन ४ का ६८ वर्षीय जंगबहादुर खत्रीले साउन महिनामा प्रचण्ड गर्मी भएको महसुस आफ्नो जीवनमा पहिलोपटक भएको बताए ।

यतिखेर खेतमा पानी छैन, सडक धुलाम्मे छु उनले भने,‘पानी नपर्दा यसपाला धान रोपाई भएका खेत पनि सुक्दै गयो ।’आकाशमा बादल देख्नासाथ स्थानीय पानी आउने आशामा बसेका हुन्छन्, तर पानी नपर्दा निराश बन्दै गएका छन् ।

प्रचण्ड गर्मीका समय विद्युत् आपूर्ति नियमित नहुँदा सर्वसाधरण सास्ती खेप्न बाध्य भएका छन् । साउन महिना बबई नदीमा समेत पानीको सतह निकै कम छ । असारको तेस्रो साता केही दिन पानी परे पनि अहिले छैन । ७५ प्रतिशत रोपाइँ भएको जिल्लामा आकाशे पानीको भरमा रहेको २५ प्रतिशत खेत बाँझै छ । रोपाइँ भएको खेतमा पानी नपर्दा केही ठाउँमा सुक्दै गएका कारण किसान चिन्तित भएका छन् ।