☰ open Loading... 17 November 2024|  

कर्णाल राजमार्ग : ५३ ठाउँमा पहिराे, यात्रुकाे विचल्ली
  | ११ श्रावण २०७४, बुधबार ०९:२१

कालीकाेट । कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकको ५३ ठाउँमा पहिरो गएको छ। कर्णाली आउजाउ गर्ने एक मात्र सडक अवरुद्ध हुँदा स्थानीय मारमा छन्। दैलेख, कालीकोट, जुम्ला र मुगुसम्मका बासिन्दा यही बाटो जान्छन्। सडक थुनिएपछि उनीहरू झरीमा भिज्दै हिँड्न बाध्य छन् ।

Karnali rajmarga News photo 3

साना गाडीले यात्रुलाई हिँडाएर पहिरो पार गराएपछि उताबाट अर्को गाडीमा जाने व्यवस्था मिलाए पनि भाडामा मनपरी छ। ‘गाडी नै पाइँदैन, पाए पनि मनपरी भाडा भन्छन्,’ खाडाचक्र–२ का नर दमाईले गुनासो पोखे, ‘दैलेखको किटुबाट हिँडेरै मान्म पुगियो।’ बाटोमा सयौं यात्रुको बिचल्ली भएको उनले सुनाए ।

तीन सयभन्दा बढी बस, ट्रक, मिनिटाटा र ट्रयाक्टर ठाउँठाउँमा अलपत्र परेका छन्। होटल, पसलले कमाउने मौका यही हो भन्दै उपभोग्य वस्तुको मूल्य चर्काएका छन्। घरसम्म पुग्ने खर्च धान्नै धौधौ परेको यात्रुको गुनासो छ । ‘सुर्खेतबाट हिँडेको ३ दिन भइसक्यो,’ जुम्ला–सिँजाका जयराज आचार्यले गुनासो पोखे, ‘बाटो कहिले खुल्ने हो, ठेगान छैन।’ ३ छोराछोरी र पत्नीसहित भारतको टिहिरीबाट आएका उनी साउने पञ्चमीका लागि गाउँ फर्किएका हुन् ।

दैलेखको किटुुदेखि कालीकोटको दैखोला (एस मोड) सम्म नै ४३ ठाउँ पहिरो गएको छ। ‘कहीँ त हिँड्ने बाटोसम्म छैन,’ स्थलगत अनुगमनमा सोमबार दैखोला पुगेर फर्किएका कालीकोटका निमित्त प्रजिअ पदमलाल लामिछानेले भने, ‘भिरालो जमिन ठाउँठाउँ भासिएर पूरै सडक अवरुद्ध छ।’ उनले सडकको कल्भर्ट, तारजाली, पर्खाल सबै भत्किएको सुनाए ।

सडक खुलाउन दैलेखबाट चेनवाला डोजर र कालीकोटबाट एक्साभेटर चलाइए पनि पहिरो झरिरहेकाले मुस्किल भएको उनको भनाइ छ। पानी नपर्ने हो भने किटु–दैखोला खण्डको पहिरो हटाएर यात्रुवाहक बस चल्ने बनाउन दुई–तीन दिन लाग्ने जिल्लाका निमित्त प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले बताए ।

यस खण्डमा पहिले पनि सडक विभागअन्तर्गतको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्ट (आरएसडीपी)ले पहिरो बग्ने ठाउँ भनेर सडक स्तरोन्नति गर्न छाडेको थियो। यहीको भिरालो पाखाको ग्राभेल खिडिज्युला खण्डमा हालेर ओटासिल पिच गरिएको स्थानीय बताउँछन् ।

आरएसडीपीले पहिरो जाने ठाउँ भन्दै काम नगरी छाडेका कालीकोटको राचुली, पिली, सुनार खोला, सेरिघाटलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध भइरहन्छ। राचुलीमा अहिले पनि पहिरो छ। ती ठाउँमा दुर्घटना पनि बढी हुने गरेको जिल्ला ट्राफिक कार्यालय, मान्मका इन्चार्ज कवि सेन्चुरीले बताए ।

१२ वर्षअघि ट्रयाक ओपन भएर आव ०७०/०७१ मा ओटासिल सम्पन्न गरिएको राजमार्गका अधिकांश ठाउँमा अहिले पिचको नामनिसान छैन। कालोपत्र सबै उप्किएकाले राजमार्ग हिलाम्मे र धुलाम्मे हुने गरेको खाडाचक्र नगरपालिकाका मेयर जसीप्रसाद पाण्डेले बताए ।

‘काम गर्ने बेलै गतिलो गरेनन्,’ उनले भने, ‘ठेकेदारले कमसल सामग्री हाले, काम पनि झारा टारेकाले सबै बिग्रिसक्यो ।’ स्थानीयले सडक कमसल बनेको गुनासो गर्दा विभागले बेवास्ता गरेको एमाले कालीकोटका अध्यक्ष नगीन्द्र शाहीले बताए ।

गमगढी अवरुद्ध
कालीकोट–जुम्लाको सिमाना नाग्मदेखि मुगु सदरमुकाम गमगढीसम्मको खण्ड पनि दुई सातायता अवरुद्ध छ। ९४ किमि लम्बाइको सडक हिलो र पहिरोले थुनिएको प्रहरी चौकी नाग्मले जनाएको छ। यससँगै स्थलमार्ग हुँदै रारा आउजाउ गर्ने बाटो पनि रोकिएको तिलागुफा नगरपालिकाका उपप्रमुख दन्ता नेपालीले बताइन्। ‘घाम लागेका दिन जुम्लाको सिँजा जाने केही गाडी मात्र मुस्किलले चल्छन्,’ उनले भनिन्।
७ वटा पुल अधुरै
कर्णाली राजमार्गमा ७ वटा पक्की पुल अझै बनिसकेका छैनन्। कतिपय पुलको सम्झौता सकिए पनि काम आधा छाडिएको छ । ठूलो पानी परेका बेला कतिपय खोला तर्न नसकेर गाडी रोकिन्छन्। सडक डिभिजनालय सुर्खेत र जुम्लाले सम्झौता गरेका दैलेखको असराघाट, घट्टेखोला, कालीकोटको टाकुल्ला, खल्लागाड पुलको निर्माण अवधि नाघिसकेको छ । कालीकोटको सिम्लागाढ, बाली, माथिल्लो खल्लागाडमा पनि पुल निर्माण नसकिएको डभिजन जुम्लाले जनाएको खवर कान्तिपुर दैनिकमा छ ।

जोखिम मोलेर खोला तर्दा यात्रु बग्ने गरेका छन्। गत वर्ष सिम्लागाड खोलाले मोटरसाइकलै बगायो । दुई महिला र एक बालिका पनि बेपत्ता भएको प्रहरीले जनाएको छ। पुल बन्न बाँकी ठाउँमा सडक पनि निकै अप्ठ्यारो रहेको चालकको गुनासो छ ।