☰ open Loading... 9 January 2025|  

किन गयाे सरकारी टोली बाजुराकाे बडिमालिका ?
  | १४ श्रावण २०७४, शनिबार १०:३३

जुम्ला ।  जुम्लाको एक सरकारी टोलिलाई शुक्रबार नेपाली सेनाले सलामी दिएर जुम्ला सदरमुकामबाट विदाइ गरेको छ । बाजुरामा रहेको बडिमालिका भगवती मन्दिर तर्फ प्रस्थान गरेको उक्त सरकारी टोलिलाइ नेपाली सेनाले सलामी दिएर विदाइ गरेको हो ।

तिर्थालु र सुरक्षाकर्मि सहित प्रस्थान गरेको १५ जना बढिको सरकारी टोलिलाइ नेपाली सेनाले पाँच वटा सलामि, बेनबाजा र बिगुल फुकेर सम्मानका साथ पठाएको छ । संस्कृतीविद् रमानन्द आचार्यका अनुसार परम्परादेखि नै हरेक बर्षको एक पटक जुम्लाको सरकारी टोली पुजाका लागि बडिमालिका जाने चलन छ ।

हरेक बर्ष नाग पञ्चमीको दिन तिर्थालु सहित जुम्लाबाट सरकारी टोली बाजुरामा रहेको बडिमालिका भवतीको मन्दिर दर्शनका लागि प्रस्थान गर्ने गर्दछन् । नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकाय लगाएत सर्बसाधाणले फुलमाला, अबिर सहित पञ्चेबाजाका साथ सरकारी टोलिलाई बिदाइ गरेको निमित्त प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढ्थापाले जानकारी दिए ।


उहाका अनुसार जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा बिष्णु बहादुर महतको नेतृत्वमा प्रस्थान गरेको सरकारी टोलि १७ दिन पछि जुम्ला सदरमुकाम आइ पुग्ने बताइएको छ । बाजुरा स्थित दरबार मालिका भगवतीको मन्दिरमा गएर भगवतिको झोली र तिर्थालुलाई परिक्रमा गराएपछि उक्त सरकारी टोलीलाई बाजुरातर्फ पठाइएको हो ।

जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टिका, विनायो, चाँदीको कांगियो, छत्र, मुरुली गरी ५ वटा पुजाका सामानहरु पनि पेटारो नामक झोलीमा राखेर बडीमालीका मन्दिरमा पुजाका लागि पठाइएको छ ।

त्यस्तै भक्तजनहरुले आफ्नो बरपुर्तिका लागि भेटिसँगै मार्सिधानको अक्षता, फुलपाती, फलफुल, ध्वजा तोरण जस्ता प्रसादहरु पठाएका छन् । जिल्लाबाट गएको टोलिसँगै गाँउ गाँउबाट पनि अन्य धर्मालम्बीहरु थपिदै जाने गर्दछन् । समाजसेवि चित्रलाल श्रेष्ठको घरबाट भगवति निकालेर चन्दननाथ, भैरबनाथ मन्दीर परीक्रममा पछि सो टोलि बढिमालिका प्रस्थान गरेको हो ।