‘अयोग्य’ लाई सहायक डिन
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को कार्यकारी परिषद्ले योग्यतै नपुगेका व्यक्तिलाई इन्जिनियरिङ संकायको सहायक डिन नियुक्त गरेको पाइएको छ । राजनीतिक भागबन्डा मिलाउन डिनको सिफारिसमा सहायक डिन बनाइएका वीरेन्द्र खड्काको योग्यता कम देखिएको हो ।
मापदण्ड मिचेर नियुक्ति दिइएको विरोधमा विद्यार्थीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयमा उजुरी दर्ता गराएका छन्। उजुरीमा उपकुलपति उपेन्द्रकुमार कोइरालाले पद दुरुपयोग गर्दै अयोग्यलाई नियुक्ति दिएको जनाई कारबाही माग गरिएको छ। सहायक डिन हुन सरकारी विश्वविद्यालयमा कम्तीमा १० वर्ष शिक्षण तथा अनुसन्धानमूलक काममा खटिएको, सहप्राध्यापक तहको व्यक्ति हुनुपर्ने प्रावधान छ । तर, खड्का नियुक्त हुँदा उनको सेवाअवधि पाँच वर्षसमेत पुग्दैनथ्यो ।
उनी काठमाडौं इन्जिनियरिङ कलेजमा उपप्राध्यापक थिए । मध्यपश्चिमाञ्चल विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनिक नियमावली ०६९ को परिच्छेद ३१ नियम १६९ बमोजिम परिषद्को फागुन २ गते बसेको बैठकले खड्कालाई सहायक डिन बनाउने निर्णय गरेको थियो ।
भोलिपल्टै उपकुलपति कोइरालाले ०७३ फागुन ३ देखि लागू हुने गरी दुई वर्षका लागि नियुक्त गरेका थिए। विश्वविद्यालय स्रोतका अनुसार योग्यता नपुगेकालाई महत्त्वपूर्ण पदमा नियुक्त गर्न नहुने भन्दै त्यति बेला परिषद् बैठकका एक सदस्यले आपत्तिसमेत जनाएका थिए ।
सन् २०१६ मा इन्जिनियरिङमा स्नातकोत्तर (एमई) गरेका खड्कालाई २०१७ फेब्रुअरीमा एकाएक सहायक डिन नियुक्त गरिएको हो। उनलाई उपकुलपति कार्यालयले परीक्षा हेर्ने जिम्मेवारी दिएको छ। नियुक्तिको सिफारिस गर्ने डिन ललितविक्रम रानाले भने सहायक डिनको योग्यताको प्रश्नमा आफू बोल्न नमिल्ने बताएकाे खवर कान्तिपुर दैनिकमा छ ।