सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले आफूहरुका मागलाई बेवास्ता गरेको भन्दै संयुक्त विद्यार्थी संगठनहरु पुन: आन्दोलित भएका छन् । दुई महिनादेखि लगातार आन्दोलित विद्यार्थी संगठनहरुले शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा धर्ना दिएर पदाधिकारीकाे दादागिरी पतन गराएर छाड्ने बताएका छन् ।
अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य एवं विश्वविद्यालय इञ्चार्ज राजेन्द्र बुढाले माग पूरा गर्न २४ घण्टे अल्टिमेटम दिए पनि विश्वविद्यालय प्रशासनले बेवास्ता गरेपछि चरणबद्ध आन्दोलन गर्न बाध्य भएको बताए । विश्वविद्यालयले आफ्नो एउटा पनि आंगिक क्याम्पस सञ्चालन नगर्दै निजी कलेजलाई सम्बन्धन दिन नहुने विद्यार्थी संगठनहरुको मुख्य माग छ ।
विश्वविद्यालय अनुदान आयोगको निर्देशन लत्याउँदै एमयूले निजी कलेजहरुलाई सम्बन्धन दिन थालेकामा स्थानीयस्तरमा चौतर्फी विरोध भएको छ । यहास्थित सम्पूर्ण राजनीतिक दल, विद्यार्थी संगठनहरु, अधिकांश सिनेट सदस्यहरु निजी कलेजलाई तत्काल सम्बन्धन दिन नहुने अडानमा छन् ।
विरोधका बाबजुद एमयूले आवेदन दिएका ६ मध्ये ३ क्याम्पसलाई सम्बन्धन दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । ग्लोबल इन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट, नेपाल इन्जिनियरिङ कलेज र प्रेसिडेन्सियल बिजनेस ग्रुप छन् । अनेरास्ववियूका गगनसिंह ठकुरीले अन्य विश्वविद्यालयले सम्बन्धन रोकेका बेला एमयू पदाधिकारीहरुले ‘आर्थिक अनियमितता’गर्ने उद्देश्यले निजी कलेजलाई सम्बन्धन दिन थालेको भन्दै आपत्ति जनाए ।
नेविसंघका केन्द्रीय सदस्य अनिलबहादुर शाहीले विश्वविद्यालय स्थापनाको मर्मविपरीत प्रादेशिक क्षेत्र भित्रकालाई आंगिक रुपमा सम्बन्धन दिन नचाहेको आरोप लगाए ।
विश्वविद्यालय अनुदान आयोगले दुईपटक विश्वविद्यालयहरुलाई तत्काल सम्बन्धन प्रक्रिया रोक्न निर्देशन दिएको थियो । असन्तुष्ट सिनेट सदस्यहरुले पनि विश्वविद्यालय ऐनलाई देखाउँदै पदाधिकारीले मनोमानी गर्ने गरेको आरोप लगाएका छन् । विश्वविद्यालयले ऐन, कानुन र विधि प्रक्रियामा रहेर सम्बन्धन खुलाइएकाले कुनै हालतमा पनि प्रक्रिया नरोक्ने अडान लिएको छ ।