दैलेख । नारायण नगरपालिका –११ को वडा कार्यालयबाट विल भरपाई मिलाएर लक्षितवर्गदेखी सडक निर्माणको लाखौं रकम झिकेको पाईएको छ । वडा अध्यक्ष टंक विष्टको सिफारिसमा कामै नगरिएका योजनाबाट नक्कली विल भरपाई तयार पारेर रकम भुक्तानी गरेको खुलासा भएको हो ।
अपाङ्ग लक्षित, बालबालिका लक्षित, महिला लक्षित र दलित लक्षित कार्यक्रमहरुमा नक्कली विलभरपाई बनाएर रकम भुक्तानी लिईएका हुन् । वडा अध्यक्षको सिफारिसमा सवै रकम भुक्तानी भैसकेको वडा सचिव युवक हमाल स्विकारछन् । नक्कली विल भरपाईमा अपाङ्ग लक्षितबाट ६० हजार, बालबालिका लक्षित १ लाख, महिला लक्षितबाट ७० हजार र दलित लक्षित कार्यक्रमबाट ६० हजार रहेको छ ।
त्यसै वडा अध्यक्षकै सिफारिसमा दुई सडक योजनाको रकम कामै नगरि विद्यालयका शिक्षकलाई तलव खुवाउन हालेको पाईएको छ । लोहोरे टाटामाखु र टाटामाखुु त्रिपानी जोड्ने सडकको रकम २५ प्रतिशत पनि कामै नगरि पुरा काम गरेको नक्किली विलभरपाई तयार गरि भुक्तानी लिएर विद्यालयको खातामा पैसा जम्मा गरेको पाईएको छ ।
टाटामाखु जोड्नेमा सडक ३ लाख २५ हजारमध्ये १ लाखको काम गरिएको छ । ७० हजार वडाभैरव निमावी जुफियालाई शिक्षक तलवका लागि दिईएको र बाँकी रकम हिनामिना भएको स्थानीयहरु बताउँछन् । त्यस्तै त्रिपानी जोड्ने सडकमा ३ लाख २१ हजारमा १ लाख २६ हजार ४ सयको काम भएको छ ।
बाँकी रकम शिक्षक तलवका लागि रैनादेवी निमावी काँडालाई १ लाख ८६ हजार ४ सय दिईएको सडक निर्माणका कोषाध्यक्ष प्रकाश विष्टले बताए । ‘शिक्षक तलवका लागि सडकको काम गरेझै गरेर पैसा दिने भनेपछि धेरै विवाद भएको थियो ।’ कोषाध्यक्ष विष्टले भने, काम देखाएझै गरेर शिक्षकको तलवमा पैसा जवरजस्ती हालियो ।’
दलित र महिला लक्षितमा बुढा बुन्ने तालिम सम्पन्न गरेको विलभरपाई राखीएको छ भने, अपाङ्ग लक्षितमा अपागता भएकाहरुको लगत संकलन गरेको विलभरपाई राखीएको वडा सचिव हमालले बताए ।
सडकको केही रकम विद्यालयको खातामा र बाँकी रकम उपभोक्ता समितिकका पदाधिकारी र सदस्यहरुले मिलेर हिनामिना गरेको स्थानीय नेता दानबहादुर महतराले बताए । ‘नक्कली विलभरपाई बनाएर योजनाको रकम झिकिएको छ ।’ महताराले भने, ‘कागजमा सकियो तर, गाँउमा कुनै पनि काम भएको छैन् ।’
वडा अध्यक्ष टंक विष्ट नै आफुले दुरुप्रयोग नहुँने हिसावबाट सवै विलभरपाई मिलाएर रकम भुक्तानी गरि अर्को खातामा राखेको स्विकारेकाछन् । अध्यक्ष विष्टले काम नभएको साँचो भएपनि पैसा हिनामिना नगरि खातामा राखेको खुलाएका छन् ।
‘अपांङ्ग लक्षित कार्यक्रमको रकम कुनै ब्यक्ती सम्र्पकमा नआएपछि आफुले काम सकेको भनेर झिकेको हुँ ।’ अध्यक्ष विष्टले भने, सडकदेखी अन्य लक्षित वर्गको रकम विलमिलाएर भुक्तानी लिई विद्यालयको खातामा जम्मा गरेका छौं । ब्यक्तिगत खर्च नभई संस्थागत रुपमा शिक्षकलाई तलव खुवाउन प्रयोग गरेका हौं ।’
बालबालिका लक्षित कार्यक्रमको रकम विद्यालयमा विद्यार्थीलाई श्रमदानमा फिल्ड निर्माण गर्न लगाएर शिक्षकको तलवमा खर्चेको अध्यक्ष स्वंयमले नै स्विकारेका छन् । ‘परम्परागत रुपमा चल्दै आएकाले शिक्षकको तलवका लागि लक्षितवर्गको रकम भैचर सहित खातामा जम्मा भएको छ ।’ उनले भने, कानुनी रुपमा जे भएपनि ब्यवहारिक रुपमा मिलाउनुपर्छ ।’
वडा सचिव यूवक हमालले अध्यक्षको सिफारिस अनुसार काम र भुक्तानी प्रकृया अगाडी बढाईएको प्रतिक्रिया दिए । फिल्ड निर्माणदेखी सडक निर्माणसम्मको काम गरेको देखीएको छ । सचिव हमालले भने, लक्षितवर्गको रकम कागजात तयार गरेर पैसा झिकेर उनीहरुकै खातामा राखेको छ तर हिनामिना भएको छैन् ।
वडामा आएको १ करोड रकम वडा अध्यक्षले वडामा विनियोजन भैसकेपछि फेरी सदरमुकामको लक्षम होटलमा आफु अनुकुल बाड्फाड गरेको नेताहरुले आरोप लगाएका छन् । आफ्ना कार्यकर्तामुखी योजना बनाएर नगर सभामा पेश गरेको नेता दानबहादुर महताराले बताए ।
गाँउमा परिषद् भएको थियो तर, वडा अध्यक्षले मिलेन भनेर फेरी सदरमुकाममै आएर योजना परिवर्तन गरेर नगरसभामा पेश गरेको वडा सचिव युवक हमालले स्विकारेका छन् । वडा अध्यक्षले टंक विष्टले नगर सभामा योजनाहरु नमिलेका केही योजनाहरु परिवर्तन गरेको प्रतिक्रिया दिएका छन् ।