☰ open Loading... 13 January 2025|  

प्रदेश ६ प्राप्तिले मात्रै शहिदकाे सपना साकार हुँदैन’
  | २५ श्रावण २०७४, बुधबार १८:५८

सुर्खेत : तेह्र दिनसम्म चलेको अखण्ड मध्यपश्चिको आन्दोलनमा २०७२ सालमा एकै दिन तीन जना सुर्खेतीले सहादत प्राप्त गरे । टिकाराम गौतम र यामबहादुर विसीको प्रहरीले चलाएको गोली लागेर मृत्यु भयो । तर गोपालसिं रजवारको भागदौडको क्रममा मृत्यु भयो । मध्यपश्चिमका केही जिल्लालाई सुदूरपश्चिममा गाँभेको विरोधमा २०७२ मा यही समयमा सुर्खेत जलिरहेको थियो । आन्दोलनका क्रममा तीन जनाको मृत्यु भयो ।

अखण्ड मध्यपश्चिम आन्दोलनकै क्रममा जुम्लाका हरिबहादुर कँुवेरको पनि मृत्यु भएको थियो । बुधबार वीरेन्द्रनगरमा याम विसी स्मृति प्रतिस्थानले आयोजना गरेको दोस्रो शहिद स्मृति दिवसमा शहिद परिवारहरुले दलहरुले शहिदहरुले देखाएको बाटो भुलेकोमा दुखेसो पोखे । छैटौँ प्रदेश प्राप्तिको क्रममा ज्यान गुमाएका शहिदहरुको सम्झनामा पहिलो शहिद स्मृत कार्यक्रममा राजनीति दलहरुले सामुहिक प्रतिवद्धता जाहेर गरेतापनि वर्तमान समय कार्यान्वयन नगरेको शहिद परिवारको बताए ।

स्मृति दिवसमा याम विसी स्मृति प्रतिष्ठानका सचिव भगवति विसीले राजनीति दलहरुले शहिदहरुलाई नसम्झिदा आफुहरुले स्मृति प्रतिष्ठान गठन गरि शहिदहरुलाई सम्झिएको दृुखेसो पोखिन । ‘प्रदेश प्राप्तिले मात्रै शहिदहरुको सपना साकार हुदैन, जब सम्म अन्य प्रदेशको तुलनामा यो प्रदेश समृद्ध बन्छ त्यही बोल मात्रै शहिदहरुले देखेका सपनाहरु साका। हुनेछ’ उनले भनिन् ।

राजनीति दलहरुले गरेका प्रतिवद्धताहरु भुल्दै गएकोमा आक्रोश पोखेकी उनले प्रश्न गर्दै भनिन्,–‘चारै जना शहिदहरुका लागि शहिद स्मारक बनाउने प्रतिवद्धता यहाँका दलले गरेका थिए, तर खै दुई वर्ष वित्यो अझै बन्ने सुर छैन ।’ हालसम्म अखण्ड मध्यपश्चिम आन्दोलनमा ज्यान गुमाउनेहरुको नामको शालिक समेत दलहरुले बनाउनमा कुनै चासो देखाएका छैनन् ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले सबै राजनीतिदलहरु एकमत भएर अगाडी बढेमा शहिदहरुको सपना साकार हुने धारणा राखे । शहिद घोषण गर्दैमा शहिदको सम्मान र सपना साकार नहुने दावी उनको छ । ‘शहिद घोषणा सम्मान होइन यी चार जना शहिदहरु प्रदेश नम्बर ६ का सबै मान्छेका मनमा बसेका छन्, त्यही हो सम्मान’ सिग्देल भने,–‘जबसम्म शासन प्रणाली राम्रो हुँदैन तबसम्म मुलुक समृद्धि हुँदैन ।’

चार जना शहिदहरुले भविष्यमा प्रदेशको खम्बाका रुपमा स्थापित हुने नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले बताए । नेपाली कांग्रेस शहिद परिवारलाई रोजगारीको व्यवस्था गर्ने मागमा कटिवद्ध रहेको बताएका रेग्मीले स्मारक निर्माणका विषयमा आफूहरु गम्भीर रहेको जानकारी दिए ।

स्मृति दिवसमा माओवादी केन्द्र सुर्खेत जिल्ला संयोजक कृष्ण जिसीले शहिदहरुले देखाएको बाटो नभुलेको बताए । शहिदहरुको सपना सकार गर्न आफ्नो पार्टी कटिबद्ध भएर लागेको उनको भनाई थियो ।

सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले चारै जना शहिदहरुको नाम एउटै स्मारक बनाउनुपर्ने आवश्यकता रहेको औंल्याए । शहिद स्मारक निर्माणका लागि उपत्यका नगर विकास समिति जुनसुकै सहयोग गर्न आतुर रहेको प्रतिवद्धता जनाए ।

याम विसी स्मृति प्रतिष्ठानका अध्यक्ष शेरबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका उप–प्रमुख देवकुमारी भट्टराई, वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदी, उप–प्रमुख मोहनमाया ढकाल, क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, राष्ट्रिय जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदी लगायत आ–आफ्नो धारणा राखेका थिए ।